काठमाडौँ । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनलाई व्यवस्थित रूपमा अघि बढाउन सभापति गगनकुमार थापाको अध्यक्षतामा मूल व्यवस्थापन समिति गठन गरेको छ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले समितिको अध्यक्षमा सभापति थापा रहने र अन्य सदस्य पछि थपिने जानकारी दिए।

ad

निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार मंगलबार वडा अधिवेशन सुरु हुनुपर्ने थियो। तर पार्टीभित्र असन्तुष्ट समूहसँग भइरहेको संवाद र सहमतिको प्रयासका कारण तल्लो तहका अधिवेशन केही दिन पर सारिएको चालिसेले बताए। नयाँ कार्यतालिका भने निर्वाचन समितिले नै तय गर्ने उनको भनाइ छ।

कांग्रेसले मंगलबार नै जिल्ला तहको निर्वाचनका लागि खटिएका निर्वाचन अधिकृतलाई प्रशिक्षणसमेत दिएको छ। प्रशिक्षण कार्यक्रममा सभापति थापाले केन्द्रीय महाधिवेशनको मिति यथावत् राख्दै आवश्यकताअनुसार अन्य निर्वाचन कार्यक्रम मिलाउन निर्वाचन समितिलाई आग्रह गरेका थिए।

महाधिवेशनमा पाँचवटा प्रस्ताव

कांग्रेसले १५औँ महाधिवेशनमा पाँच प्रमुख प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेको छ। प्रवक्ता चालिसेका अनुसार असोज १६ गतेदेखि काठमाडौंमा हुने महाधिवेशनमा सभापति थापाले ‘मुख्य राजनीतिक प्रस्ताव’ प्रस्तुत गर्नेछन्। उक्त प्रस्तावको मूल विषय ‘आगामी दशक, लोकतन्त्र र कांग्रेस’ रहनेछ।

उपसभापति विश्वप्रकाश शर्माले ‘राजनीतिक संस्कृतिमा क्षयको प्रवृत्ति र युगानुकूल रूपान्तरण’ शीर्षकमा प्रस्ताव पेस गर्नेछन्। यसमा पार्टीको राजनीतिक संस्कार तथा बदलिँदो परिस्थितिअनुसार आवश्यक रूपान्तरणका विषय समेटिने कांग्रेसले जनाएको छ।

त्यस्तै, उपसभापति पुष्पा भुसालले प्रदेश निर्वाचनसँग सम्बन्धित विशेष प्रस्ताव प्रस्तुत गर्नेछिन्। महामन्त्री गुरुराज घिमिरेले सांगठनिक प्रस्ताव र अर्का महामन्त्री प्रदीप पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव महाधिवेशनमा पेस गर्नेछन्।

प्रचारप्रसारको जिम्मेवारी प्रवक्ता चालिसेलाई

महाधिवेशनको प्रचारप्रसार तथा सञ्चार व्यवस्थापनको जिम्मेवारी प्रवक्ता चालिसेलाई दिइएको छ। गत साउन २४ देखि भदौ १ गतेसम्म बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनमा पाँचवटा प्रस्ताव पेस गर्ने निर्णय गरेको थियो।

सोही बैठकले प्रस्ताव तयार गर्ने जिम्मेवारीसमेत पार्टीका पदाधिकारीहरूलाई बाँडफाँट गरेको चालिसेले जानकारी दिए। महाधिवेशनको तयारीसँगै तल्लो तहका अधिवेशनको नयाँ तालिका र पार्टीभित्रको असन्तुष्टि समाधानको विषय कांग्रेसका लागि अहिले मुख्य चुनौती बनेको छ।