
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले तत्काल नेकपा एमालेसँग पार्टी एकताको सम्भावना नरहेको बताएका छन्।
मंगलबार बागमती प्रदेश समितिको एकता बैठकलाई सम्बोधन गर्दै नेपालले एमालेसँग पार्टी एकता हुने चर्चा चले पनि त्यसलाई लिएर भ्रममा नपर्न नेता–कार्यकर्तालाई आग्रह गरे। उनले वर्तमान परिस्थितिमा एमालेसँग एकता सम्भव नरहेको स्पष्ट पारे।
नेपालका अनुसार चौथो महाधिवेशनबाट मोहनविक्रम सिंहको नेतृत्वमा रहेको पार्टीबाहेक अन्य विभिन्न कम्युनिस्ट घटक नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन्। उनले कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउने जिम्मेवारी आफ्नो पार्टीको रहेको दाबी गरे।
उनले नेपाली कम्युनिस्ट पार्टीलाई कम्युनिस्ट आन्दोलनको मूल शक्तिका रूपमा प्रस्तुत गर्दै आन्दोलनलाई थप सुदृढ बनाउने अभियानमा पार्टी अघि बढिरहेको बताए।
बैठकमा नेपालले पार्टीका प्रारम्भिक संरचना केही ठूलो र भद्दा देखिए पनि यो अवस्था स्थायी नरहने बताए। आगामी महाधिवेशनबाट संगठनलाई थप चुस्त, व्यवस्थित र प्रभावकारी बनाइने उनको भनाइ थियो।
सरकारप्रति नेपालको आलोचना
नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको वर्तमान सरकारको समेत आलोचना गरे। उनले वर्तमान सरकारलाई ‘हावाहुरीले बनेको सरकार’को संज्ञा दिँदै जनतालाई राहत दिनुको साटो थप आहत बनाएको आरोप लगाए।
सरकारका गतिविधिका कारण जनतामात्र नभई छिमेकी चीनसमेत असन्तुष्ट बनेको दाबी गर्दै उनले सरकारलाई जनताका मुद्दामा केन्द्रित हुन आग्रह गरे।
नेपालले नेपालको असंलग्न परराष्ट्र नीतिबाट सरकार विचलित हुन नहुनेमा जोड दिए। सरकारलाई जनताका सरोकार र राष्ट्रिय हितका विषयमा सचेत गराउँदै सही दिशाबाट विचलित हुन नदिने भूमिका निर्वाह गर्नुपर्ने उनले बताए।









Facebook Comments