
काठमाडौँ । नेकपा एमालेले बागमती प्रदेशको मुख्यमन्त्रीका लागि प्रदेशसभा सदस्य किरण थापाको नाम अघि सारेको छ। एमाले संसदीय दलको बैठकले थापालाई प्रदेश सरकारको नेतृत्वका लागि अगाडि बढाउने निर्णय गरेको हो।
भक्तपुरबाट प्रदेशसभा सदस्य निर्वाचित थापा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको व्यक्तिगत निकटताका कारण पनि चर्चामा रहँदै आएका छन्। ओली गुण्डुमा बस्दा प्रयोग गर्ने घर थापाको रहेको बताइन्छ। थापा यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध थिए र पछिल्लो समय एमालेमा प्रवेश गरेका हुन्।
मुख्यमन्त्रीको उम्मेदवार टुंगो लगाए पनि एमालेले संसदीय दलको नेताको जिम्मेवारी भने जगन्नाथ थपलियालाई नै निरन्तरता दिएको छ। मुख्यमन्त्री बन्ने दौडमा थपलियासहित अन्य नेताहरूको दाबी रहेपछि लामो समयदेखि पार्टीभित्र छलफल चल्दै आएको थियो। अन्ततः संसदीय दलको बैठकले थापाको पक्षमा निर्णय गरेको हो।
एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच बनेको राजनीतिक समीकरणअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेको भागमा परेको थियो। त्यसपछि मुख्यमन्त्रीको दाबेदारीलाई लिएर एमालेभित्रै नेताहरूबीच प्रतिस्पर्धा बढेको थियो। विवाद समाधानका लागि अध्यक्ष ओलीले समेत सम्बन्धित नेताहरूसँग छलफल गर्दै आएका थिए।
बहुमत जुटाउन थप समर्थन आवश्यक
१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा नेपाली कांग्रेसका ३६, नेकपाका २६ र एमालेका २५ सांसद छन्।
एमाले र नेकपाका सांसद जोड्दा ५१ सदस्य पुग्छन्। बहुमतका लागि आवश्यक ५३ संख्या भने दुई मतले अपुग हुन्छ। त्यसमाथि एमालेकी सांसद अप्सरा चापागाईं उपसभामुख रहेकाले उनको मतलाई सरकार गठनको गणितमा कसरी समेटिन्छ भन्ने विषय पनि महत्त्वपूर्ण हुनेछ।
प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्। राप्रपाले सरकार गठनको प्रक्रियामा तटस्थ बस्ने निर्णय गरिसकेको अवस्थामा एमाले नेतृत्वको सरकार बनाउन थप सांसदको समर्थन जुटाउनुपर्ने देखिएको छ।
त्यसैले थापालाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने एमालेको निर्णयसँगै अब सरकार गठनका लागि आवश्यक बहुमत जुटाउने चुनौतीसमेत थपिएको छ।









Facebook Comments