काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएको असन्तुष्टि र असमझदारी समाधानका लागि आफूले असन्तुष्ट नेताहरूसँग निरन्तर संवाद गरिरहेको बताएका छन्।

पार्टीको १५औँ महाधिवेशनका लागि निर्वाचन अधिकृतलाई पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा थापाले पार्टीभित्र केही नेताहरू असन्तुष्ट रहेको स्वीकार गर्दै सहमतिको वातावरण बनाउन आफू संवादमा रहेको बताए।

ad

उनले असन्तुष्ट नेताहरूसँग सहमति जुटाउने उद्देश्यले निरन्तर छलफल गरिरहेको उल्लेख गरे।

कांग्रेसमा पार्टीको आधिकारिकता लगायतका विषयलाई लिएर पछिल्लो समय विवाद देखिएको छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षले आधिकारिकतासम्बन्धी विषय अदालतसम्म पुर्‍याएको छ।

पार्टीभित्रको विवाद संवाद र सहमतिबाट समाधान गर्नुपर्ने धारणा दुवै पक्षका नेताहरूले सार्वजनिक रूपमा राख्दै आएका छन्। यही पृष्ठभूमिमा सभापति थापाले पनि असन्तुष्ट समूहसँग छलफल जारी रहेको बताएका हुन्।

कांग्रेसको १५औँ महाधिवेशनको तयारी भइरहेका बेला पार्टीभित्रको विवाद समाधान गरी सबै पक्षलाई समेटेर अघि बढ्ने प्रयासलाई थापाको पछिल्लो अभिव्यक्तिले संकेत गरेको छ।