काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ र सभामुख डोलप्रसाद अर्यालबीच प्रश्नोत्तरका क्रममा असहज अवस्था सिर्जना भएको छ।

परराष्ट्रमन्त्री शिशिर खनालले आफूले उठाएको प्रश्नको दिएको जवाफ चित्त नबुझेपछि तामाङले थप स्पष्टीकरण माग गर्दै पूरक प्रश्नका लागि समय उपलब्ध गराउन आग्रह गरेकी थिइन्। तर सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीअनुसार तत्काल थप प्रश्न गर्ने समय उपलब्ध नभएको जानकारी गराउँदै उनलाई आसन ग्रहण गर्न आग्रह गरे।

ad

सभामुखको आग्रहपछि पनि तामाङले आफ्नो प्रश्नको स्पष्ट जवाफ नआएको भन्दै थप कुरा राख्न खोजिरहिन्। त्यसक्रममा सभामुख अर्यालले उनलाई संसदीय मर्यादा कायम राख्दै सभाको गरिमा ख्याल गर्न निर्देशन दिए।

आफूलाई थप स्पष्टीकरण राख्ने अवसर नदिएको भन्दै असन्तुष्ट तामाङ त्यसपछि बैठकबाट बाहिरिइन्। केही दिनअघि उनले उठाएको विषयमा परराष्ट्रमन्त्री खनालले बैठकमा जवाफ दिएका थिए।

तामाङको उक्त व्यवहारप्रति भने रास्वपाकै सांसद स्मृति सेन्चुरीले असन्तुष्टि जनाएकी छन्। उनले सभामुखको आग्रह बेवास्ता गर्दै बैठकबाट बाहिरिनुलाई सांसदको अधिकारभन्दा संसदीय मर्यादासँग जोडिएको विषयका रूपमा टिप्पणी गरेकी छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सेन्चुरीले सभामुख सम्पूर्ण सदनको सम्मानित नेतृत्व भएकाले सांसदले आफ्ना कुरा राख्ने अधिकार प्रयोग गर्दा पनि संसदीय आचरण र मर्यादा कायम गर्नुपर्ने बताएकी छन्।

उनले लोकतान्त्रिक अभ्यासमा सांसदको सम्मान उसको आवाजको चर्कोपनभन्दा आचरण र व्यवहारबाट स्थापित हुने धारणा व्यक्त गरेकी छन्।