
काठमाडौँ । प्रधानमन्त्री एवं रक्षामन्त्री वालेन्द्र (बालेन) शाह र भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारतबीचको सुरक्षा तथा सैन्य सहकार्यलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको समेत सहभागिता थियो।
प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा चारदिने नेपाल भ्रमणमा रहेका सेनाध्यक्ष सेठ आइतबार काठमाडौं आएका हुन्। भ्रमणका क्रममा उनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गरेका थिए।
नेपाल र भारतबीच सन् १९५० देखि दुवै देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ।
यसअघि सोमबार नै प्रधान सेनापति सिग्देल र भारतीय सेनाध्यक्ष सेठबीच द्विपक्षीय भेटवार्ता भएको थियो। नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष सेठले नेपाली सैन्य नेतृत्व तथा उच्चपदस्थ अधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।









Facebook Comments