काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले तत्कालीन राजनीतिक लाभ वा सत्ता समीकरणलाई केन्द्रमा राखेर हतारमा कुनै निर्णय गर्न नहुने बताएका छन्। पार्टीका विभिन्न धारणा र मतलाई सम्मान गर्दै दीर्घकालीन प्रभाव हेरेर निर्णय लिनुपर्ने उनको भनाइ छ।

सोमबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सम्बोधन गर्दै थापाले तत्कालको राजनीतिक फाइदाभन्दा पार्टीको सिद्धान्त, लोकतान्त्रिक मूल्य र आगामी यात्रालाई प्राथमिकता दिनुपर्ने बताए।

ad

पार्टीभित्र विभिन्न विषयमा फरक धारणा आउनु स्वाभाविक भएको उल्लेख गर्दै उनले सबै विचार सुन्ने र सम्मान गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।

‘हामीले तत्कालीन फाइदाका लागि निर्णय गर्ने होइन, सबैलाई समेटेर जाने निर्णय गर्नुपर्छ,’ थापाले बैठकमा भने, ‘पार्टीभित्रका साथीहरूका आ–आफ्ना धारणा र विचार हुन सक्छन्, ती सबैलाई पार्टीले सुन्नुपर्छ र सम्मान गर्नुपर्छ।’

उनको यो भनाइ कांग्रेसको संस्थापनइतर समूहको हालै सम्पन्न राष्ट्रिय भेलाले सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएपछि आएको हो। उक्त विषयले कांग्रेसभित्र बहस र मतभेद बढिरहेका बेला सभापति थापाले तत्कालीन राजनीतिक लाभका आधारमा महत्वपूर्ण निर्णय नगर्न नेतृत्व र कार्यकर्तालाई सचेत गराएका हुन्।

ऐतिहासिक राजनीतिक दलका रूपमा कांग्रेसले कुनै पनि विषयमा निर्णय गर्दा त्यसको दीर्घकालीन प्रभाव र पार्टीको मूल राजनीतिक दृष्टिकोणलाई ध्यान दिनुपर्ने थापाको भनाइ थियो। फरक मतलाई निषेध गर्नेभन्दा त्यसलाई पार्टीको वैधानिक प्रक्रियामार्फत छलफल र निर्णयमा लैजानुपर्ने उनले संकेत गरे।

रास्वपा सरकारलाई पाँच वर्ष चल्न दिनुपर्ने

बैठकमा थापाले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको वर्तमान सरकारलाई निर्धारित पाँच वर्षको कार्यकाल पूरा गर्न दिनुपर्ने धारणा पनि राखे। आगामी निर्वाचन यही सरकारले गराउनुपर्ने र कांग्रेसले अहिलेबाटै अर्को निर्वाचनको तयारी थाल्नुपर्ने उनले बताए।

कांग्रेस सरकारको प्रतिस्पर्धी भए पनि आवश्यक ठाउँमा सहयोग र खबरदारी दुवै गर्ने उनको भनाइ छ।

‘हामी प्रतिस्पर्धी मात्रै होइनौँ, सहयोगी पनि हौँ,’ थापाले भने, ‘रास्वपा निर्वाध रूपमा पाँच वर्ष चल्नुपर्छ। अर्को चुनाव यही सरकारले गराउनुपर्छ।’

उनका अनुसार कांग्रेसले आगामी निर्वाचनसम्म सरकारको भन्दा राम्रो काम गर्ने क्षमता विकास गरेर जनताको विश्वास जित्न सक्नुपर्छ।

विगतमा बहुमत प्राप्त सरकार आफ्नै आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा त्यसको असर मुलुक र लोकतन्त्रले भोग्नुपरेको थापाले स्मरण गरे। २०७४ सालपछि बनेको तत्कालीन नेकपा नेतृत्वको सरकार संसद् विघटनसम्म पुगेको प्रसंग उल्लेख गर्दै उनले त्यसबाट कांग्रेसलाई राजनीतिक लाभ भए पनि त्यस्तो अवस्थालाई सही मान्न नसकिने बताए।

‘बहुमतको सरकार बन्यो तर आफूभित्रको द्वन्द्व व्यवस्थापन गर्न सकेन। प्रतिपक्षले पनि लाभ हुने कुरा सोच्यो। यो सोचबाट सिंगो लोकतन्त्र, नेपाल र हामीले मूल्य चुकाउनुपर्‍यो,’ उनले भने।

तत्कालको समीकरणभन्दा १० वर्षको तयारी

थापाले कांग्रेसले तत्कालीन सत्ता समीकरणमा मात्र ध्यान नदिई आगामी दशकलाई लक्षित गरेर संगठन र नीतिगत तयारी गर्नुपर्ने बताए। उनले कांग्रेसले अघि सारेको ‘प्रोजेक्ट गभर्मेन्ट’ अवधारणालाई पनि दीर्घकालीन तयारीसँग जोडेर हेर्नुपर्ने धारणा राखे।

सरकारको कार्यशैलीबारे अहिले नै नियतमाथि प्रश्न उठाउने पक्षमा आफू नरहेको बताउँदै उनले नयाँ र उत्साही सरकारलाई सचेत गराउनु प्रतिपक्षको जिम्मेवारी भएको बताए।

तर सरकार निर्णय र शासन सञ्चालनमा ‘लाइक’ र ‘डिसलाइक’को मानसिकताबाट निर्देशित हुन थाले त्यसले शासकीय अराजकता निम्त्याउन सक्ने उनको चेतावनी थियो।

‘रुल अफ ल’ र ‘रुल बाई ल’ फरक

थापाले सरकारलाई विधिको शासनको आधारभूत मान्यताबाट विचलित नहुन पनि आग्रह गरे। कानुन हुनु र कानुनको शासन हुनु एउटै कुरा नभएको उल्लेख गर्दै उनले ‘रुल अफ ल’ र ‘रुल बाई ल’ बीचको भिन्नता बुझ्नुपर्ने बताए।

कानुनलाई आफ्नो स्वार्थअनुकूल प्रयोग गर्ने प्रवृत्ति देखिए त्यसको परिणाम सरकार स्वयंले भोग्नुपर्ने उनको चेतावनी थियो।

‘कानुनलाई टुलको रूपमा प्रयोग गर्नुभयो भने खनिएको खाल्डोमा आफैँ पर्नुहुन्छ,’ प्रधानमन्त्रीलाई सम्बोधन गर्दै थापाले भने।

सरकारले मर्यादाको सीमा कायम राख्नुपर्ने र प्रधानमन्त्रीले आफ्ना निर्णयमा स्पष्टता देखाउनुपर्ने उनको आग्रह थियो।

ग्यासको निर्णयमा सरकारको तयारीमाथि प्रश्न

थापाले खाना पकाउने ग्यासको अभावलाई सरकारको निर्णय प्रक्रियासँग जोडेर प्रश्न उठाए। १४.२ किलोको ग्यास सिलिन्डरलाई ७.१ किलोमा झार्ने निर्णय पर्याप्त तयारीबिना गरिएको र त्यसपछि समस्या देखिएपछि त्यसको समाधानमा अपेक्षित ध्यान नदिइएको उनको आरोप थियो।

सरकारले कुनै निर्णय लिनुअघि त्यसको प्रभाव, कार्यान्वयन क्षमता र आवश्यक पूर्वतयारीबारे पर्याप्त अध्ययन गर्नुपर्ने उनले बताए।

घरअगाडि राखिएको गाडी प्रहरीकै भएको दाबी

यसैबीच, सभापति थापाले आफ्नो घरको गेटअगाडि राखिएको निजी गाडीबारे अनुसन्धान गर्दा त्यसलाई चलाएर ल्याउने व्यक्ति प्रहरी भएको जानकारी पाएको दाबी गरेका छन्।

सानेपास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा थापाले केही समयअघि आफ्नो घरको गेटमा गाडी राखिएको र पछि उक्त गाडी ट्राफिक कार्यालय लगिएको बताए।

परिवारका सदस्य गाडी कसको हो भन्ने बुझ्न ट्राफिक कार्यालय पुगे पनि तत्काल जानकारी नदिइएको उनको भनाइ छ। पछि एक व्यक्ति आफूले उक्त गाडी चलाएर ल्याएको भन्दै उपस्थित भएको र परिचय खोज्दै जाँदा उनी प्रहरी रहेको थाहा भएको थापाले दाबी गरे।

निजी सम्पत्तिमा क्षति पुर्‍याउन नहुनेमा आफू सचेत रहेको उल्लेख गर्दै उनले घटनाबारे तथ्य सार्वजनिक हुनुपर्ने बताए।

कांग्रेस सभापति थापाका पछिल्ला अभिव्यक्तिले पार्टीभित्र तत्कालका राजनीतिक मुद्दामा प्रतिक्रिया दिनुभन्दा दीर्घकालीन नीति, वैधानिक प्रक्रिया र संस्थागत निर्णयलाई प्राथमिकता दिने उनको रणनीति स्पष्ट पार्ने प्रयास गरेको देखिन्छ।