
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आगामी भदौ १० गते प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रत्यक्ष प्रश्नको सामना गर्ने भएका छन्। सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि उक्त मिति तोकेका हुन्।
प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन चाहने सांसदले भदौ ५ गतेभित्र संघीय संसद् सचिवालयका सचिवसमक्ष आफ्ना प्रश्न दर्ता गराउनुपर्नेछ। दर्ता भएका प्रश्नमध्ये निर्धारित प्रक्रियाअनुसार सांसद छनोट गरी प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्ने अवसर दिइनेछ।
कार्यक्रममा प्रतिनिधि सभाका १५ जना सांसदले प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउनेछन्। सबै राजनीतिक दलको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले प्रश्नकर्ता सांसद छनोटको व्यवस्था गरिएको छ।
प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ वटा दलबाट एक–एक जना सांसदलाई अनिवार्य रूपमा प्रश्न गर्ने अवसर दिइनेछ। बाँकी आठ जना सांसद भने सम्बन्धित दलको प्रतिनिधि सभामा रहेको संख्यात्मक उपस्थितिका आधारमा छनोट हुनेछन्।
यस व्यवस्थाका कारण प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलका रूपमा रहेको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले अन्य दलको तुलनामा बढी प्रश्न गर्ने अवसर पाउने सम्भावना छ।
प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरमा सांसदहरूले सरकारको कामकारबाही, नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक घटनाक्रम र जनसरोकारका विषयमा प्रश्न उठाउन सक्नेछन्। प्रधानमन्त्रीले ती प्रश्नको जवाफ संसद्को बैठकमै प्रत्यक्ष रूपमा दिनुपर्नेछ।
लामो समयदेखि प्रधानमन्त्रीको संसद् उपस्थितिलाई लिएर प्रश्न उठिरहेका बेला तय भएको यो प्रश्नोत्तर कार्यक्रमलाई सरकारको संसदीय जवाफदेहिताका दृष्टिले समेत चासोका साथ हेरिएको छ।







Facebook Comments