काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको राष्ट्रिय भेला/सम्मेलनमा सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रस्ताव पारित भएपछि पार्टीभित्र मतभेद चर्किएको छ। प्रस्तावलाई लिएर नेताहरूबीच सहमति जुट्न नसक्दा सम्मेलनका निर्णय सार्वजनिक गर्न तय गरिएको पत्रकार सम्मेलनसमेत रोकिएको छ।
सम्मेलनको समापनका क्रममा अचानक पाँचबुँदे प्रस्ताव प्रस्तुत गर्दै सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता जनाउने निर्णय गरिएपछि विवाद सुरु भएको नेताहरूले बताएका छन्। प्रस्तावमाथि हलमै असहमति जनाएका नेताहरूले यसबारे थप छलफल र स्पष्टता आवश्यक रहेको बताएका छन्।
नेता शंकर भण्डारी र प्रकाशशरण महतलगायतले तयार पारेको भनिएको प्रस्ताव समापन सत्रमा प्रस्तुत गरिएको थियो। त्यसमा नेपालको सनातनदेखि चलिआएको धर्म–संस्कृतिलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्ने तथा हिन्दु, बौद्ध, किरात र प्रकृतिपूजक परम्पराको संरक्षण गर्ने प्रतिबद्धता जनाइएको थियो।
प्रस्ताव सुनाएपछि ताली बजाएर अनुमोदन गराइएको भए पनि त्यसमा सबै नेताको सहमति नरहेको बताइएको छ। विशेषगरी संविधानले नेपाललाई धर्मनिरपेक्ष राज्यका रूपमा परिभाषित गरेको अवस्थामा धर्मसम्बन्धी यस्तो निर्णय पार्टीको औपचारिक दस्तावेजमा समावेश गर्न नहुने मत बलियो देखिएको छ।
पूर्वउपसभापति विमलेन्द्र निधि, महामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमहामन्त्री प्रकाशमान सिंह तथा नेताहरू रमेश लेखक र मीनबहादुर विश्वकर्मालगायत नेताहरू संविधानको विद्यमान व्यवस्थामै कांग्रेस उभिनुपर्ने पक्षमा देखिएका छन्।
प्रस्ताव हलमा प्रस्तुत हुँदै गर्दा निधि पोडियममै पुगेर महतसँग कुराकानी गरेका थिए। धर्मसम्बन्धी विषयलाई निर्णयमा समेट्ने प्रक्रियाप्रति निधिसहितका नेताहरूले असहमति जनाएका थिए।
पत्रकार सम्मेलन रोकियो
धर्मसम्बन्धी विवादका कारण सम्मेलनबाट पारित निर्णय औपचारिक रूपमा सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलन स्थगित गरिएको छ। नेताहरूबीच पुनः छलफल गरी विषयमा स्पष्ट निष्कर्षमा पुगेपछि मात्रै निर्णय सार्वजनिक गर्ने तयारी छ।
नेता मीनबहादुर विश्वकर्माले पनि केही विषयमा नेताहरूबीच छलफल आवश्यक रहेकाले त्यसपछि मात्र पत्रकार सम्मेलन गर्ने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत समेत पार्टीभित्रको असमझदारीप्रति संकेत गरेका छन्।
‘मन मिल्नेसँग कुरा मिलेन। कुरा मिल्नेसँग मन मिलेन। दुवै मिल्नेसँग विचार मिलेन, बात खत्तम, जय नेपाल,’ विश्वकर्माले लेखेका छन्।
भण्डारीले बन्द सत्रदेखि नै उठाउँदै थिए मुद्दा
कांग्रेसका केही नेताका अनुसार शंकर भण्डारीले सम्मेलनको बन्द सत्रदेखि नै सनातन हिन्दु धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने विषय उठाउँदै आएका थिए। प्रकाशशरण महतलगायत केही नेताको समर्थनसमेत उनलाई रहेको बताइएको छ।
राजनीतिक प्रस्तावमा धर्मसम्बन्धी विषय समावेश नभएपछि भण्डारीले त्यसप्रति असन्तुष्टि व्यक्त गरेका थिए। उनले यस विषयमा धारणा राख्न निवर्तमान सभापति शेरबहादुर देउवालाई समेत आग्रह गरेको बताइएको छ।
त्यसपछि देउवाले आफू हिन्दु भएको उल्लेख गर्दै धार्मिक स्वतन्त्रताको पक्षमा रहेको धारणा राखेका थिए। देउवाले धार्मिक स्वतन्त्रताको पक्षमा आफू स्पष्ट रहेको बताएको नेताहरूको भनाइ छ।
महतले पनि प्रस्ताव प्रस्तुत गर्ने क्रममा निधिले पाँचबुँदे प्रस्तावका केही शब्दप्रति असहमति जनाएको बताएका छन्।
संविधानको विषयमा कांग्रेसभित्रै प्रश्न
सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा स्थापित गर्ने प्रस्तावले कांग्रेसभित्र संविधानप्रतिको पार्टीको दृष्टिकोणलाई लिएर समेत बहस जन्माएको छ।
२०७२ असोज ३ गते कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री रहेका बेला संविधान जारी भएको थियो। त्यसैले संविधानको धर्मनिरपेक्ष व्यवस्थालाई प्रभावित पार्ने आशयको निर्णय कांग्रेसले गर्न नहुने तर्क असहमत पक्षका नेताहरूले अघि सारेका छन्।
कांग्रेसभित्रै संविधान संशोधनको बहस हुन सक्ने भए पनि त्यसका लागि पार्टीको औपचारिक नीति, संवैधानिक व्यवस्था र राष्ट्रिय सहमतिलाई ध्यान दिनुपर्ने उनीहरूको धारणा छ।
संस्थापनइतर पक्षका केही नेताहरूले भने सनातन धर्मसम्बन्धी प्रस्तावलाई पार्टीभित्रको एउटा समूहले अघि बढाएको र त्यसका लागि देउवाको नामसमेत राजनीतिक रूपमा प्रयोग गरिएको दाबी गरेका छन्।
उनीहरूका अनुसार देउवाले धर्मसम्बन्धी कुनै स्पष्ट राजनीतिक अडान प्रस्तुत नगरे पनि केही नेताको आग्रहमा आफू हिन्दु भएको विषय पटक–पटक उल्लेख गरेका थिए।
अब धर्मसम्बन्धी प्रस्तावलाई कसरी व्याख्या गर्ने र सम्मेलनका निर्णयमा यसलाई यथावत् राख्ने वा संशोधन गर्ने भन्ने विषयमा कांग्रेस नेताहरूबीच थप छलफल हुने भएको छ। यही विवादका कारण सम्मेलनका निर्णय सार्वजनिक गर्ने प्रक्रियासमेत तत्कालका लागि रोकिएको छ।








Facebook Comments