काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनअघि असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउने प्रयासस्वरूप वडा अधिवेशनको मिति पछि सारेको छ। सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले भदौ २ गतेदेखि सुरु गर्ने भनिएको वडा अधिवेशनको कार्यतालिका संशोधन गरेको हो।

महामन्त्री प्रदीप पौडेलका अनुसार पार्टीभित्रको असन्तुष्ट पक्षलाई पनि प्रक्रियामा सहभागी गराउने उद्देश्यले वडा अधिवेशन तत्काल सुरु नगर्ने निर्णय गरिएको हो। उनका अनुसार अधिवेशन प्रक्रिया अघि बढेपछि असन्तुष्ट पक्षका लागि सहभागी हुने ठाउँ साँघुरिन सक्ने भएकाले सहमतिका लागि थप समय दिन खोजिएको हो।

ad

‘वडा अधिवेशन सुरु गरेपछि उहाँहरूका लागि ढोका बन्द हुन्छ। त्यसैले अझै पनि उहाँहरू आउन सक्नुहुन्छ कि भनेर प्रयास गरेका हौँ,’ पौडेलले भने, ‘हामी सहमतिका लागि लचिलो भएका छौँ।’

पार्टीभित्र पूर्वसभापति शेरबहादुर देउवा पक्षलाई समेत समेटेर महाधिवेशनमा जाने प्रयास भइरहेको कांग्रेस नेताहरूले बताएका छन्। नेतृत्व र महाधिवेशनको प्रक्रियालाई लिएर देखिएको मतभेद समाधान गर्दै सबै पक्षलाई सहभागी गराउने रणनीतिअनुसार कार्यतालिका हेरफेर गरिएको हो।

केन्द्रीय समितिले अन्य चरणका अधिवेशनसम्बन्धी कार्यतालिकामा पनि आवश्यक संशोधन गर्ने भएको छ। यद्यपि १५औँ महाधिवेशनको मुख्य मिति भने परिवर्तन गरिएको छैन। महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने निर्णय यथावत् रहेको महामन्त्री पौडेलले बताए।

कांग्रेसले मंसिरभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने संवैधानिक तथा कानुनी बाध्यता रहेको पनि उनले स्पष्ट पारे। त्यसैले आन्तरिक विवाद समाधान गर्दै निर्धारित सीमाभित्रै महाधिवेशन सम्पन्न गर्ने तयारीमा पार्टी रहेको उनको भनाइ छ।

वडा तहबाट सुरु हुने अधिवेशन प्रक्रिया नै पछाडि धकेलिएपछि अब संशोधित कार्यतालिका कसरी अघि बढ्छ भन्ने विषयमा कांग्रेसभित्र चासो बढेको छ। पार्टी नेतृत्वले भने समयसीमा नबिगार्ने गरी असन्तुष्ट पक्षसँग सहमति जुटाउने प्रयासलाई प्राथमिकता दिएको छ।