काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले पार्टी सभापतिका रूपमा गगन थापालाई स्वीकार गर्न आफूहरू तयार रहेको बताएका छन्। तर, नेतृत्वमा पुगेपछि थापाले पार्टीका सबै वरिष्ठ र विभिन्न पक्षका नेताहरूलाई समेटेर अघि बढ्नुपर्ने उनको सर्त छ।

सोमबार चुनदेवीस्थित आफ्नो सम्पर्क कार्यालयमा आयोजित चियापान कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रिय भेलाका संयोजकसमेत रहेका कोइरालाले कांग्रेसभित्रको पछिल्लो विवादको मुख्य कारण नेतृत्व र पदको आकांक्षा रहेको बताए।

ad

थापालाई सभापति स्वीकार गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्नमा कोइरालाले आफूहरू त्यसका लागि तयार रहेको स्पष्ट पारे। थापाले नेतृत्व सम्हालेर अन्य नेताहरूलाई पनि उचित स्थान दिने वातावरण बनाउन सके पार्टीभित्रको विवाद समाधान गर्न सहज हुने उनको भनाइ थियो।

‘गगन थापा सभापति भएर बस्नुस्, अरू साथीहरूलाई पनि समेट्नुस् भन्ने मेरो कुरा हो। उहाँले त्यो पनि स्वीकार नगर्ने हो भने हामीले के गर्न सक्छौँ ?’ कोइरालाले भने।

कांग्रेसभित्रको ध्रुवीकरण कम गर्न आफूले संवाद र सहमतिका लागि पहल गरिरहेको पनि उनले बताए। विशेषगरी निवर्तमान सभापति शेरबहादुर देउवा र गगन थापाबीचको दूरी घटाउने प्रयासमा आफू सक्रिय रहेको उनको भनाइ छ।

आफूलाई थापाको पक्षमा उभ्याउने प्रयास भइरहेको भए पनि कुनै एक समूहको पक्ष लिन आफू तयार नरहेको कोइरालाले स्पष्ट पारे। पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन सबै पक्षलाई समेटिनुपर्ने उनको अडान छ।

‘मलाई तान्नु छ भने सबैलाई तान्नुपर्छ भनेको छु। कुरा मिलेन,’ उनले भने।

कांग्रेस विभाजनको पक्षमा आफू नरहेको दोहोर्‍याउँदै कोइरालाले आफू अहिले पनि पार्टीभित्र सहमतिको वातावरण निर्माण गर्ने मध्यवर्ती भूमिकामा रहेको बताए। नेताहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीको हित र आवश्यकतालाई केन्द्रमा राख्नुपर्ने उनको धारणा छ।

पार्टीभित्र लामो समयदेखि जारी विवाद र ध्रुवीकरणको जड नेतृत्वको पदप्रतिको आकांक्षा रहेको संकेत गर्दै उनले पदको प्रतिस्पर्धाले नै आन्तरिक द्वन्द्व बढाएको बताए।

‘पद नचाहिएको भए यत्रो लडाइँ किन हुन्थ्यो ?’ कोइरालाले प्रश्न गरे।