
काठमाडौं । नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौला पन्तले पार्टीभित्र देखिएको चुनौती र निर्वाचनमा प्राप्त परिणामबाट पाठ सिक्दै कांग्रेसलाई विभाजनको जोखिमबाट जोगाउनुपर्ने बताएकी छन्।
सोमबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै संग्रौलाले कांग्रेसलाई समाजका सबै वर्ग, समुदाय र विचारलाई समेट्न सक्ने ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठन गर्नुपर्नेमा जोड दिइन्। पार्टीको आगामी यात्रा इतिहासको चेत, लोकतान्त्रिक मूल्य र देशप्रतिको जिम्मेवारीबोधका साथ अघि बढाउनुपर्ने उनको भनाइ थियो।
उनले संविधान र गणतन्त्रको संरक्षण कांग्रेसको मूल राजनीतिक दायित्व भएको उल्लेख गर्दै पार्टीको विचार र अभियानलाई कुनै शक्तिले रोक्न नसक्ने बताइन्। कांग्रेसको १५औँ महाधिवेशन घोषित कार्यतालिकाअनुसार असोज १६ देखि १९ गतेसम्मै सम्पन्न गर्नुपर्नेमा पनि उनले जोड दिइन्।
महाधिवेशनलाई समयमै सम्पन्न गर्न आवश्यक नियमावली, निर्वाचन निर्देशिका र सदस्यता अद्यावधिकको काम तत्काल टुंग्याउनुपर्ने संग्रौलाको सुझाव छ। त्यसका लागि महाधिवेशन तयारी समिति, विधान मस्यौदा समिति तथा प्रचारप्रसारलगायतका उपसमिति तत्काल गठन गर्नुपर्ने उनले बताइन्।
संगठनको अवस्थाबारे चर्चा गर्दै उनले ‘जरा अभियान’ र आफ्नो सांगठनिक भ्रमणका क्रममा कांग्रेसप्रति कार्यकर्ता तथा सर्वसाधारणको आशा अझै कायमै रहेको आफूले पाएको बताइन्। उक्त आशालाई संगठन सुदृढीकरण र प्रभावकारी परिचालनमार्फत परिणाममा बदल्नुपर्ने उनको भनाइ थियो।
मधेशको घटनाक्रममा कांग्रेस गम्भीर बन्नुपर्ने
तराई–मधेशमा विकसित पछिल्ला घटनाक्रमले सामाजिक तथा जातीय सद्भावमा असर पार्न सक्ने भन्दै संग्रौलाले कांग्रेसले संवेदनशील भएर भूमिका निर्वाह गर्नुपर्ने बताइन्। बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक एकतालाई बलियो बनाउने पक्षमा पार्टी स्पष्ट रूपमा उभिनुपर्ने उनले धारणा राखिन्।
सुनसरी घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिनका लागि संसदीय छानबिन समिति गठनको मागलाई कांग्रेसले आफ्नो मुख्य ‘बटमलाइन’ बनाउनुपर्ने उनको भनाइ थियो। मधेशमा शान्ति, सुरक्षा र सामाजिक भ्रातृत्व कायम गर्न कांग्रेसले अग्रणी भूमिका खेल्नुपर्ने उनले बताइन्।
सरकारमाथि दिशाहीनताको आरोप
सहमहामन्त्री संग्रौलाले वर्तमान सरकार गठन भएको चार महिना बितिसक्दा पनि सत्ता दिशाहीन र असक्षम देखिएको आरोप लगाइन्। सरकार लोकप्रियतावादी निर्णयमा केन्द्रित भएको दाबी गर्दै उनले प्रमुख प्रतिपक्षका रूपमा कांग्रेसले संसद्मा जनताका मुद्दामा तथ्यपूर्ण, कडा र प्रभावकारी बहस अघि बढाउनुपर्ने बताइन्।
प्रदेशहरूमा बढिरहेको राजनीतिक अस्थिरता र सत्ताको खिचातानीले संघीयतामाथि नै प्रश्न उठ्ने अवस्था आएको उनको भनाइ छ। त्यसैले संघीयताको विषयमा कांग्रेसले स्पष्ट दृष्टिकोणसहित आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने उनले बताइन्।
विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न आवश्यक नीति निर्माण गर्नुपर्ने तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिलाई थप व्यवस्थित र सुदृढ बनाउनुपर्ने सुझाव पनि संग्रौलाले दिइन्।
भ्रातृ संस्थाको महाधिवेशन गर्न माग
लामो समयदेखि तदर्थ संरचनामा चलिरहेका नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल र नेपाल महिला संघलगायत भ्रातृ संस्थालाई सक्रिय बनाउन विधान समयानुकूल परिमार्जन गरी तत्काल महाधिवेशनको प्रक्रिया अघि बढाउनुपर्ने उनले बताइन्।
उनले पार्टीको आन्तरिक संगठनसँगै जनजीविकाका सवालमा पनि कांग्रेसले सरकारलाई निरन्तर दबाब दिनुपर्ने धारणा राखिन्।
ग्यासको आपूर्ति व्यवस्थापनमा पर्याप्त पूर्वतयारी र भण्डारण क्षमताको अध्ययन नगरी १४.२ केजीको सिलिन्डर भर्ने निर्णय गरिँदा बजारमा अभाव सिर्जना भएको उनको आरोप थियो। ग्यास आयात तथा भण्डारण क्षमता बढाउन कूटनीतिक पहल गर्नुपर्ने, विद्युत् खपतमा लगाइएका अतिरिक्त कर हटाउनुपर्ने र इन्डक्सन चुलो प्रयोगलाई सहुलियत दिनुपर्ने उनले बताइन्।
मुख्य खेतीको सिजनमै मल अभाव झेलिरहेका किसानलाई तत्काल अनुदानको मल उपलब्ध गराउनुपर्नेमा जोड दिँदै संग्रौलाले यस्ता जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयमा कांग्रेसले संसद् र सडक दुवै मोर्चाबाट सरकारलाई प्रभावकारी रूपमा जवाफदेही बनाउनुपर्ने धारणा राखिन्।









Facebook Comments