काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिनिधि सभा बैठकमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन रुलिङ गरेका छन्। प्रधानमन्त्री शाह लामो समयदेखि संसद्को प्रश्नोत्तर कार्यक्रममा अनुपस्थित रहँदै आएपछि सभामुखले यस्तो निर्देशन दिएका हुन्।

प्रधानमन्त्री संसद्मा उपस्थित नभएको विषयलाई लिएर विपक्षी दलका सांसदहरूले करिब साढे दुई महिनादेखि प्रश्न उठाउँदै आएका थिए। प्रतिनिधि सभा नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्री संसद्मा उपस्थित भई सांसदहरूले सोधेका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था छ। तर, प्रधानमन्त्री शाह अहिलेसम्म नियमित प्रश्नोत्तर कार्यक्रममा सहभागी भएका छैनन्।

ad

यसअघि जेठ १७ गते प्रधानमन्त्री शाह आकस्मिक रूपमा प्रतिनिधि सभा बैठकमा उपस्थित भएका थिए। त्यतिबेला उनले नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको दाबी गरेपछि उनको अभिव्यक्ति विवादमा परेको थियो। त्यसयता सांसदहरूले प्रधानमन्त्रीसँग संसद्मै जवाफ माग्दै आएका थिए।

प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन सभामुख अर्यालले यसअघि तीन पटक भेटेर आग्रहसमेत गरेका थिए। तर, प्रधानमन्त्रीले ती आग्रहअनुसार संसद्मा उपस्थिति नजनाएपछि सभामुखले औपचारिक रूपमा रुलिङ गरेका हुन्।

अब सभामुखको रुलिङपछि प्रधानमन्त्री शाह प्रतिनिधि सभा बैठकमा कहिले उपस्थित हुन्छन् र सांसदका प्रश्नको कसरी जवाफ दिन्छन् भन्ने विषय चासोको बनेको छ। रुलिङ कार्यान्वयनको समय र प्रक्रियाबारे भने आगामी संसद् बैठकले थप स्पष्टता दिनेछ।