
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वास्तविक शक्ति नेता विशेषको निवासमा नभई कार्यकर्तामै रहेको बताएका छन्। पार्टीको ‘आत्मा’ खोज्दै कुनै नेताको घरघरमा पुग्ने पक्षमा आफू नरहेको उनको भनाइ छ।
काठमाडौंमा धर्म गौतमद्वारा लिखित पुस्तक ‘बीपी र विद्रोहका ती दिन’ विमोचन कार्यक्रममा बोल्दै थापाले संस्थापनइतर समूहले हालै आयोजना गरेको राष्ट्रिय भेलाप्रति संकेत गर्दै यस्तो टिप्पणी गरेका हुन्।
साउन २९ गते संस्थापनइतर समूहको राष्ट्रिय भेला उद्घाटनका क्रममा नेता प्रकाशशरण महतले पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘शरीर मात्र रहेको, आत्मा नरहेको’ धारणा राखेका थिए। त्यसको जवाफ दिँदै थापाले कांग्रेसको आत्मा नेताको घरमा लुकेको छ कि भनेर खोज्न आफू नहिँड्ने बताए।
‘आत्मा नेताहरूको घरमा लुकेको छ कि भनेर खोज्न म जाँदिनँ,’ थापाले भने, ‘पार्टीको आत्मा कार्यकर्तामै छ।’
चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेर संस्थापनइतर समूहले सुकेधारामा गरेको तीनदिने राष्ट्रिय भेलाका विषयमा भने आफूले सोमबार औपचारिक रूपमा धारणा सार्वजनिक गर्ने उनले बताए।
थापाका अनुसार उनले कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी करिब एक घण्टा भेलाका विषयमा बोल्नेछन्। त्यसैले आइतबारको कार्यक्रममा आफूले विमोचन गरिएको पुस्तक र त्यससँग सम्बन्धित विषयमा मात्र केन्द्रित भएर बोल्न चाहेको उनले पत्रकारहरूलाई आग्रह गरे।
थापाले कांग्रेसका संस्थापक नेताहरू बीपी कोइराला र गणेशमान सिंहलाई कुनै व्यक्ति वा समूहको निजी सम्पत्तिजस्तो बनाउन नहुने पनि बताए। संस्थापक नेताका विचार र योगदानलाई सीमित घेराभित्र राखेर व्याख्या गर्न नहुने उनको भनाइ थियो।
बीपीको विचारबारे अहिले विभिन्न ढंगले व्याख्या भइरहेकाले तत्कालीन आन्दोलनका प्रत्यक्ष सहभागी र अभियन्ताहरूले त्यसबारे आफ्नो अनुभव सार्वजनिक गर्नुपर्ने थापाले बताए। आफूहरूले सुनेका वा पढेका आधारमा मात्र बीपीका भनाइको व्याख्या गर्दा ऐतिहासिक सन्दर्भ कमजोर हुन सक्ने उनको तर्क थियो।
यसैबीच, पछिल्ला तीन दिनमा आफूविरुद्ध धेरै आलोचना र निन्दा भएको कुरा सञ्चारमाध्यमबाट थाहा पाएको थापाले बताए। तर नेताहरूले कसले कसलाई कति आलोचना गर्यो भन्ने विषयलाई मात्र समाचारको केन्द्र नबनाउन उनले आग्रह गरे।
‘विगत तीन दिनमा धेरै निन्दा भएको सुनेँ,’ उनले भने, ‘सबै निन्दा हेडलाइन बनेका छन्। कसले कति बढी निन्दा गर्यो भन्ने टिपेर देखाइहालिएको छ।’
राजनीतिक बहसमा इतिहास र विषयकेन्द्रित छलफलले पनि स्थान पाउनुपर्नेमा जोड दिँदै थापाले नेताले के बोले भन्ने विषय मात्र समाचारको केन्द्र बन्न नहुने धारणा राखे।









Facebook Comments