काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। निर्वाचित नेतृत्वलाई नागरिकसँग नियमित रूपमा जोड्दै सरकारका कामकारबाहीलाई थप जनउत्तरदायी र पारदर्शी बनाउने उद्देश्यले कार्यक्रम अघि बढाउन लागिएको हो।

कार्यक्रमअन्तर्गत रास्वपाबाट सरकारमा सहभागी मन्त्रीहरू महिनामा कम्तीमा एकपटक पार्टीको केन्द्रीय कार्यालयमा उपस्थित हुनुपर्नेछ। त्यहाँ उनीहरूले सर्वसाधारण र पार्टीका विभिन्न तहका प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्नेछन्।

ad

रास्वपाका संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारका अनुसार कार्यक्रमले नागरिकका समस्या र सुझावलाई राज्यको नीति निर्माण तथा कार्यान्वयनको तहसम्म पुर्‍याउने माध्यमका रूपमा काम गर्नेछ।

कार्यक्रमको पहिलो चरणमा एक घण्टाको समय आमनागरिकका लागि छुट्याइनेछ। उक्त अवधिमा उपस्थित मन्त्रीले नागरिकका गुनासा, समस्या, अपेक्षा तथा सुझाव प्रत्यक्ष रूपमा सुन्नेछन्।

त्यसपछि दोस्रो चरणमा मन्त्री, केन्द्रीय समिति सदस्य र प्रतिनिधिसभा सदस्यबीच संयुक्त छलफल हुनेछ। नागरिकबाट प्राप्त सुझावसँगै मुलुकका समसामयिक, बहुआयामिक तथा नीतिगत विषयमा छलफल गरी आगामी कार्यदिशा तय गरिनेछ।

रास्वपाका अनुसार नागरिक, सरकार, संसद् र पार्टी संगठनबीच समन्वयलाई प्रभावकारी बनाउँदै जनताका मुद्दामा साझा रणनीति निर्माण गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो।

कार्यक्रममार्फत मन्त्रीहरूलाई नागरिकप्रति प्रत्यक्ष जवाफदेही बनाउने, जनताका वास्तविक समस्या पहिचान गरी नीति तथा कानुन निर्माणमा पार्टीको धारणा तय गर्ने र सरकार, संसदीय दल, पार्टी संगठन तथा नागरिकबीच सूचना र कार्ययोजनाको आदानप्रदानलाई व्यवस्थित गर्ने लक्ष्य रास्वपाले राखेको छ।

पार्टीले यस कार्यक्रमलाई जनतासँग नियमित सम्पर्क र संवादमार्फत राजनीतिक नेतृत्वको जवाफदेहिता बढाउने अभ्यासका रूपमा अघि बढाउन लागेको जनाएको छ।