काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुभव र दक्षताबिनाको नेतृत्वले मुलुकलाई सही दिशामा अघि बढाउन नसक्ने टिप्पणी गर्दै प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारप्रति कटाक्ष गरेका छन्।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले नयाँ भनिएका राजनीतिक शक्तिसँग शासन सञ्चालनका लागि आवश्यक न्यूनतम सीपसमेत नरहेको दाबी गरे।

ad

सरकार सञ्चालनलाई कला र सीपसँग तुलना गर्दै ओलीले काम गर्ने तरिका नै नजाने व्यक्तिलाई जिम्मेवारी दिँदा अपेक्षित परिणाम आउन नसक्ने बताए। उनका अनुसार खाना पकाउने सीप नभएको व्यक्तिलाई भान्साको जिम्मा दिएजस्तै अनुभवहीन व्यक्तिको हातमा शासनसत्ता पुग्दा समस्या निम्तिन्छ।

ओलीले बाजा बजाउने सीप नजान्नेलाई मादल थमाउँदा राम्रो संगीत ननिस्कने उदाहरण दिँदै वर्तमान सरकारको कार्यशैलीप्रति व्यंग्य गरे। सिक्ने प्रक्रिया पूरा नगरी जिम्मेवारीमा पुगेका व्यक्तिले प्रक्रिया र प्रणाली नबुझ्दा मुलुकले त्यसको क्षति व्यहोर्नुपर्ने उनको भनाइ थियो।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले अनुभवहीन नेतृत्वका कारण राष्ट्रिय राजनीति र प्रशासनमा बेथिति बढेको आरोप लगाए। दक्षता र अनुभवको अभावमा देश सञ्चालन गर्न खोज्दा समस्या थप गहिरिँदै जाने उनको तर्क थियो।

उनले वर्तमान राजनीतिक परिस्थितिप्रति टिप्पणी गर्दै मुलुक बर्बादीतर्फ उन्मुख भएको दाबी पनि गरे। नयाँ नेतृत्वसँग शासन सञ्चालनको पर्याप्त क्षमता नभएकाले अपेक्षित सुधार आउन नसकेको ओलीको भनाइ थियो।

ओलीले संविधानको संरक्षणको विषयसमेत उठाउँदै अहिले संविधान उल्लंघन भइरहेको आरोप लगाए। संविधान र लोकतान्त्रिक प्रणालीलाई सही बाटोमा फर्काउनु आवश्यक रहेको बताउँदै उनले संविधानको रक्षा गर्नुपर्नेमा जोड दिए।