
काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले पछिल्लो राजनीतिक अवस्थाप्रति तीव्र असन्तुष्टि जनाउँदै मुलुक झन् गम्भीर संकटतर्फ धकेलिएको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने?’ विषयक अन्तरक्रियामा बोल्दै भुसालले नेपाल यसअघि ‘नालायक’हरूबाट शासित रहेको टिप्पणी गर्दै अहिले ‘लफङ्गा’हरूको हातमा पुगेको आरोप लगाए।
गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका दिन आफूले यस्तो निष्कर्ष निकालेको स्मरण गर्दै उनले त्यसबेला आफ्नो आकलन गलत साबित होस् भन्ने कामना गरेको बताए। तर निर्वाचनपछिका करिब साढे चार महिनाका घटनाक्रमले आफूले गरेको टिप्पणीभन्दा पनि परिस्थिति थप जटिल बन्दै गएको उनको दाबी छ।
‘मुलुक नालायकहरूबाट त शासित छँदै थियो, अब लफङ्गाहरूबाट शासित हुने भयो भनेर मैले त्यतिबेलै निष्कर्ष निकालेको थिएँ,’ भुसालले भने, ‘त्यतिबेला म गलत साबित हुन पाऊँ भन्ने चाहेको थिएँ। तर आजको अवस्था हेर्दा झन् डरलाग्दो परिस्थिति देखिँदैछ।’
उनका अनुसार अहिलेको राजनीतिक अस्थिरताले समाजमा थप क्षति र राजनीतिक दुर्घटनाको जोखिम बढाएको छ। वर्तमान सरकार यही शैलीमा थप दुई वर्ष अघि बढे मुलुकले गम्भीर संकट सामना गर्नुपर्ने चेतावनीसमेत उनले दिए।
कम्युनिस्टको हारको समीक्षा हुन सकेन
भुसालले पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा कम्युनिस्ट दलहरूले व्यहोरेको पराजय अनपेक्षित र सहजै व्याख्या गर्न नसकिने खालको रहेको बताए।
निर्वाचनमा आफूहरू कसरी पराजित भए भन्नेबारे अहिलेसम्म गम्भीर समीक्षा हुन नसकेको उनको भनाइ थियो।
‘हामी यसरी हारेका छौँ कि कसरी हार्यौँ भनेर अहिलेसम्म पत्तो पाएका छैनौँ,’ उनले भने, ‘यो त्यस्तो अनपेक्षित हार हो, जसलाई कतिपय अवस्थामा व्याख्या गर्नसमेत कठिन भइरहेको छ।’
उनले निर्वाचन परिणामबाट पाठ सिकेर विगतका कमजोरी पहिल्याउन र समग्र वामपन्थी आन्दोलनको पुनरावलोकन गर्नुपर्ने बताए। कम्युनिस्ट आन्दोलनलाई नयाँ आधारसहित जनतामाझ लैजानुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।
कांग्रेस विवादमा सर्वोच्चको कदमप्रति प्रश्न
भुसालले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरवलोकनका लागि निस्सा दिएको विषयलाई पनि अस्वाभाविक भएको टिप्पणी गरेका छन्।
विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई प्राप्त वैधानिकता उल्टिन सक्ने सम्भावनातर्फ संकेत गर्दै उनले अदालतको पछिल्लो कदमले राजनीतिक परिस्थिति थप जटिल बन्न सक्ने दाबी गरे।
उनले यस्तो अवस्थामा संविधान र लोकतान्त्रिक व्यवस्थामाथि समेत जोखिम उत्पन्न हुन सक्ने चेतावनी दिए।
भुसालले सत्तारूढ दल र सरकारले आफ्ना कमजोरी ढाक्न ठूला राजनीतिक गतिविधि गर्न सक्ने आरोप पनि लगाए। नयाँ भनिएका राजनीतिक शक्तिहरूले समेत पुरानै नेतृत्वलाई निरन्तरता दिन खोजिरहेको उनको दाबी थियो।
‘अदालतले गगनहरूको मुद्दा उल्टिन सक्ने गरी निस्सा जारी गरेको छ,’ उनले भने, ‘यदि त्यस्तो भयो भने आफ्ना नालायकी र लफङ्गागिरी ढाक्न अझ ठूला गतिविधि हुन सक्छन्।’
आफ्ना कमजोरी र असफलता ढाक्न गरिने यस्ता गतिविधिको अन्तिम असर संविधान र लोकतन्त्रमा पर्ने भुसालको भनाइ थियो। त्यसले मुलुकलाई थप राजनीतिक तथा आर्थिक संकटतर्फ धकेल्न सक्ने भन्दै उनले सतर्क हुनुपर्ने बताए।









Facebook Comments