काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको तीनदिने राष्ट्रिय भेला सकिँदा समूहभित्रका आन्तरिक मतभेद सतहमा आएका छन्। भेलाको उद्घाटनमा सहभागी भएका नेता पूर्णबहादुर खड्का र शेखर कोइराला समापन समारोहमा भने उपस्थित भएनन्।

पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा भएको भेलाको उद्घाटन कार्यक्रममा खड्का र शेखर सहभागी थिए। उक्त कार्यक्रममा पूर्वसभापति शेरबहादुर देउवाको दायाँबायाँ शेखर र शशांकलाई राखिएको थियो। तर समापनका क्रममा दुवै नेता अनुपस्थित रहेपछि यसको राजनीतिक अर्थबारे कांग्रेस वृत्तमा चर्चा सुरु भएको छ।

ad

भेलाले आगामी १५औँ महाधिवेशन सम्पन्न नहुँदासम्म पार्टीका नियमित गतिविधि देउवाको निर्देशनमा संयोजक शशांक कोइरालाले समन्वय गर्ने निर्णय गरेको छ। यही निर्णयलाई लिएर शशांकलाई संस्थापनइतर समूहको नेतृत्वमा अघि बढाउने तयारी भएको हुनसक्ने अड्कलबाजीसमेत भएको छ।

यद्यपि, शशांकले शेखरले नै आफू उद्घाटन सत्रमा मात्र सहभागी हुने जानकारी यसअघि नै दिएको बताएका छन्। शेखर र खड्कानिकट कतिपय नेता तथा कार्यकर्ता भने समापन समारोहमा सहभागी थिए।

भेलाको अन्तिम चरणमा नेताहरू विमलेन्द्र निधि र प्रकाशशरण महतबीच देखिएको विवादले पनि कांग्रेसभित्रको मतभेदलाई उजागर गरेको छ। सहभागीहरूबाट आएका सुझाव समेटेर तयार पारिएको निर्णयको मस्यौदा प्रस्तुत गर्ने क्रममा दुई नेताबीच ‘कार्यसमिति’ शब्द राख्ने विषयमा विवाद भएको हो।

१४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको नेतृत्वमै १५औँ महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव प्रस्तुत हुँदा हलले ताली बजाएर अनुमोदन गरेको थियो। त्यसपछि निर्णयको मस्यौदामा ‘कार्यसमिति’ शब्द समावेश गर्ने विषयमा महतले जोड दिएपछि निधि पनि मञ्चमा पुगेका थिए। केहीबेर भनाभन भएपछि निधिले महतलाई मञ्चबाट हट्न आग्रह गरेका थिए। विवाद बढेपछि केही समय माइकसमेत बन्द गरिएको थियो।

धर्मसम्बन्धी विषयमा पनि निधि र महतबीच फरक धारणा देखिएको थियो। महतले निर्णयमा ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबैलाई स्वतन्त्र हुने’ भन्ने विषय समेट्नुपर्ने धारणा राखेका थिए। निधिले भने त्यसको सट्टा ‘धार्मिक स्वतन्त्रता’ उल्लेख गर्नुपर्ने पक्षमा अडान लिएका थिए।

प्रत्यक्ष प्रसारण भइरहेका बेला दुई नेताबीच भएको भनाभन र कागज तानातानको दृश्य बाहिरिएपछि घटनाले थप चर्चा पायो। तर महतले भने यसलाई ठूलो विवादका रूपमा लिन नहुने बताएका छन्। उनका अनुसार धर्मसम्बन्धी विषयमा केही फरक धारणा रहे पनि अन्ततः सहमति जुटेको र भेलाले निर्णय सर्वसम्मत रूपमा पारित गरेको हो।

समापन समारोहमा पूर्वसभापति देउवाले दिएको अभिव्यक्तिले पनि कांग्रेसको आगामी राजनीतिक एजेन्डाबारे बहस निम्त्याएको छ। देउवाले आफू हिन्दू भएको उल्लेख गर्दै पशुपतिनाथमा पूजा गर्ने गरेको बताए। उनले हिन्दू धर्मसँगै बौद्ध धर्मलाई पनि समान रूपमा सम्मान गर्ने धारणा राखे।

नेपालमा प्रकृतिलाई आधार मानेर धार्मिक आस्था राख्ने समुदायको समेत चर्चा गर्दै देउवाले राई र लिम्बू समुदायको धार्मिक तथा सांस्कृतिक आस्थाको सम्मान गर्नुपर्ने बताए। नेपाल कस्तो बन्ने भन्ने विषय नेपाली जनताकै निर्णयमा निर्भर रहने उनको भनाइ थियो।

भेलाबाट पारित निर्णय र समापनमा देउवाले उठाएका धार्मिक तथा सांस्कृतिक विषयले कांग्रेसको संस्थापनइतर समूहले आगामी राजनीतिक बहसमा धर्म र धार्मिक स्वतन्त्रताको मुद्दालाई पनि थप प्राथमिकताका साथ अघि बढाउन खोजेको संकेत गरेको छ।