
आँखाले देखेसम्म पर कताकता सीमा देखिँदैनथ्यो
सायद सीमा नभएर होला
धरतीलाई ढाकिरहेको सगरको सीमा खै कता ?
जता म पुग्छु त्यतै ममाथि आकाश
म आकाशमार्गबाट जाँदा पनि तल, माथि जताततै आकाश
कल्पनाको दुनियाँमा डुल्दा बादलपारि पुगेँ म
तर पनि आकाशपारि पुग्न सकिनँ
कसरी पुग्नु ?
जब चन्द्रमा त तैरिरहेको छ आकाशमा
असीमित आकाश ।
यस्तो सीमा नभएको बालसुलभतामा म परिरहेँ
जब एउटा अपार व्यक्तित्वको सान्निध्यमा हुन्थेँ
उनी–
संवेदनशीलता प्रत्याभूति गर्दा आनन्द लिने
कुरालाई उज्यालो पार्दा खिसिक्क हाँस्ने
त्यतिबेला अनुहारभरि छाएको निश्छल निश्चलता
म अवाक् भएर हेरिरहन्थेँ ।
उनी भौतिक रूपमा छैनन्
तर ४८ वर्षपछि पनि उनको अनुहार म देखिरहेको छु
मायालु अनुहार भएर पनि होला
कुनै कर्मकाण्डी कोरसमा गीत गाउनका लागि होइन
उनले गरेको भाषा सेवाको अनुराग झंकृत भएर मात्र हो ।
सबै कुराबाट साधारण मान्छे
तर असाधारण उनको देश प्रेम
अभिव्यक्त गर्ने हो आफू उभिएको धरातल ठम्याएर
उनले गरिरहे आजीवन कहिल्यै नथाकेर
आ–आफ्नो फाँटबाट उद्गम भएको प्रेमको समग्रतामा
सिंगो मुलुक बाँचेको हुन्छ ।
फल प्राप्तिको अभिप्रायले गरिने काममा स्वार्थ मिसिन्छ
यस्तो मिसावटको हाँसोमा न कान्ति हुन्छ, न शान्ति
निष्काम कर्मका पाइलाहरूले मात्र शिखर आफैँ चुमिन्छ
यसै क्रमका परिणति हुन् भानुभक्त र देवकोटा
सम, सिद्धिचरण र भवानी भिक्षु ।
‘एक दिन नारद सत्यलोक पुगिगया लोकको गरौँ हित भनी’
रामायणको यो श्लोक लेख्दा भानुभक्तको कुन गन्तव्य थियो र ?
सिवाय असल कर्मप्रतिको चिन्मयता
उनको रामायण उनी बितेको ४५ वर्षपछि मात्र छापिएको
कल्पनाको सीमाभन्दा बाहिर थियो रामायण जनबोली बन्ने
त्यसैले हो हाम्रो महाकविले उनलाई मानेका–
‘शुक्र तारा’
‘नेपाली साहित्यको इतिहासमा सर्वश्रेष्ठ पुरुष’
कारण हो ः राष्ट्रको हृदयमा सबभन्दा तीव्र भएर बस्न सकेकाले
यो कारणको पनि कारण दिन्छन् देवकोटा–
केटाकेटीजस्तो तोतेबोलीको माधुर्य र हृदयको सरलताले ।
जब म भाषासेवी गोपाल पाँडे असीमलाई सम्झन्छु
उनको बालसुलभ हाँसो आँखाअगाडि देखिहाल्छु
देवकोटाले भनेको ‘तोतेबोलीको माधुर्य र हृदयको सरलता’
चेहराभरि फैलिएको त्यो स्वरूप देख्छु
हरकिसिमले साधारण थिए, असीम नेपाली भाषाको सेवा गर्दा
नेपाल शिक्षा परिषद्को स्थापना ७६ वर्षअगाडि गर्दा
उनको हृदयमा भाषाको सेवाबाहेक अरू के थियो र ?
कुन शिखर थियो र ?
हो, थियो– असीम अर्थात् सीमा नभएको बालसुलभता ।








Facebook Comments