
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले पार्टी नेतृत्वबाट तत्काल पछि नहट्ने स्पष्ट संकेत दिएका छन् । पार्टीभित्रैबाट नेतृत्व परिवर्तनको आवाज उठिरहेका बेला ओलीले विधान र अनुशासनविपरीत गतिविधि स्वीकार्य नहुने भन्दै असन्तुष्ट नेताहरूलाई कडा चेतावनी दिएका हुन् ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघको बैठकलाई सम्बोधन गर्न इलाम पुगेका ओलीले पार्टी कठिन परिस्थितिमा रहेका बेला नेतृत्व छाडेर भाग्ने आफ्नो स्वभाव नभएको बताए । पार्टी कार्यालयमा बसेर अध्यक्ष हटाउने चर्चा गर्नु र हस्ताक्षर अभियान चलाउनु अराजकता भएको उनको टिप्पणी थियो ।
‘अध्यक्षलाई हटाउने ? कसले हटाउने ? के मजाक हो यो ?’ ओलीले प्रश्न गर्दै पार्टीभित्र मनलाग्दी ढंगले गतिविधि गर्न नदिइने बताए । उनले अहिले पार्टीमाथि बाह्य राजनीतिक दबाब र आक्रमण बढिरहेका बेला एकताबद्ध भएर त्यसको सामना गर्नुपर्नेमा नेतृत्व परिवर्तनको बहस गर्नु उचित नभएको जिकिर गरे ।
एमालेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायत नेताहरूले नेतृत्वको विकल्प खोज्नुपर्ने धारणा राखिरहेको सन्दर्भमा ओलीको यस्तो अभिव्यक्ति आएको हो । पछिल्लो समय एमालेभित्र नेतृत्व, संगठन पुनर्गठन र पार्टीको आगामी दिशालाई लिएर आन्तरिक बहस तीव्र बन्दै गएको छ ।
ओलीले पार्टीलाई आगामी केन्द्रीय कमिटी बैठकपछि अझ कडा अनुशासनका साथ अघि बढाउने बताए । उनका अनुसार पार्टीभित्र देखिएका असन्तुष्टि र गतिविधिमाथि छलफल भए पनि विधि र विधान मिचेर नेतृत्व परिवर्तनको प्रयास स्वीकार्य हुने छैन ।
उनले पार्टीमा बस्ने हो भने पार्टीको नीति, नियम र अनुशासन पालना गर्नुपर्ने भन्दै असन्तुष्ट नेताहरूलाई स्पष्ट सन्देश दिए । ‘पार्टीमा काम गर्ने हो भने अनुशासन चाहिन्छ,’ ओलीले भने, ‘पार्टीको विरोध गर्दै हिँड्ने र सामाजिक सञ्जालमा जे मन लाग्यो त्यही लेख्ने छुट हुँदैन ।’
पार्टीको निर्णय र नीतिविपरीत जानेलाई कारबाही हुन सक्ने चेतावनीसमेत उनले दिए । उनका अनुसार कुनै पनि संस्थामा आबद्ध भएपछि त्यसको नीति र विधि पालना गर्नुपर्ने हुन्छ । पार्टीको अनुशासन मान्न नसक्नेले अन्य विकल्प रोज्न सक्ने ओलीको भनाइ थियो ।
‘पार्टीमा बस्न मन छैन भने अर्को पार्टीमा गए हुन्छ, घरमा बसे हुन्छ,’ ओलीले भने, ‘तर पार्टीमै रहेर मनपरीतन्त्र चलाउन पाइँदैन ।’
आफू कार्यकर्ताको अत्यधिक समर्थनसहित पार्टीको नेतृत्वमा निर्वाचित भएको स्मरण गर्दै ओलीले आगामी महाधिवेशनसम्म पार्टी सञ्चालन गर्ने जिम्मेवारी आफूले पाएको बताए । त्यसैले बीचमै नेतृत्व छाड्नुपर्ने कुनै कारण नरहेको उनको भनाइ थियो ।
एमालेभित्र नेतृत्व परिवर्तनको बहससँगै अध्यक्ष ओलीको भूमिकालाई लिएर दुई धार देखिन थालेका बेला उनको पछिल्लो अभिव्यक्तिले आन्तरिक विवाद थप पेचिलो बन्न सक्ने संकेत गरेको छ । ओली भने नेतृत्व परिवर्तनको मागलाई अस्वीकार गर्दै पार्टीलाई अनुशासन र एकताका आधारमा अघि बढाउने पक्षमा देखिएका छन् ।








Facebook Comments