
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको वैधानिकता र नेतृत्वबारे कुनै अन्योल नरहेको दाबी गरेका छन् । उनले विधि र प्रक्रियाअनुसार सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भइसकेकाले नेतृत्वलाई लिएर विवाद सिर्जना गर्न खोज्नु उचित नभएको बताएका हुन् ।
शनिबार दोस्रो झापा–१ काठमाडौं कप फुटसल प्रतियोगिताका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले विशेष महाधिवेशनको निर्णयलाई निर्वाचन आयोगले मान्यता दिइसकेको र त्यसविरुद्ध सर्वोच्च अदालतबाट समेत निर्णय नभएको उल्लेख गरे । त्यसैले कांग्रेसको नेतृत्वबारे भ्रम सिर्जना गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ थियो ।
‘नेपाली कांग्रेसको सभापति को हो भनेर अलमलिनुपर्ने अवस्था छैन,’ शर्माले भने, ‘आवेगमा आएर कतै नेमप्लेट राख्ने, कतै अर्को नेमप्लेट राख्ने र फरक–फरक व्यक्तिलाई सभापति वा कार्यसमिति भनेर प्रस्तुत गर्ने कुरा विधि र प्रक्रियासम्मत होइन ।’
उनले कांग्रेसमा नेतृत्व चयनका लागि निश्चित प्रक्रिया र विधान रहेको स्मरण गराउँदै त्यसलाई सबैले स्वीकार गर्नुपर्ने बताए । विशेष महाधिवेशनबाट थापा सभापति बनेको विषयलाई पार्टीको स्थापित प्रक्रियाका रूपमा बुझ्नुपर्ने उनको भनाइ थियो ।
राजनीतिक गतिविधिलाई खेलसँग तुलना गर्दै शर्माले नियमबाहिर गएर गरिने गतिविधिले संस्थालाई नै कमजोर बनाउने बताए । फुटसल खेलमा नियम उल्लंघन हुँदा पहेँलो र रातो कार्डको व्यवस्था भएजस्तै राजनीतिमा पनि विधि र अनुशासनको पालना आवश्यक रहेको उनको तर्क थियो ।
‘खेलको मैदानमा गल्ती गरे पहेँलो कार्ड देखाइन्छ, फेरि गल्ती दोहोरिए रातो कार्ड देखाइन्छ । खेल पनि निश्चित विधिबाट चल्छ,’ उनले भने, ‘नेपाली कांग्रेसको पनि आफ्नै विधि छ । त्यही विधिअनुसार विशेष महाधिवेशन भयो र त्यसबाट गगन थापा सभापति चयन हुनुभयो ।’
शर्माले पार्टीभित्र देखिएका मतभेदलाई विधि र संवादबाट समाधान गर्नुपर्नेमा जोड दिए । व्यक्तिगत दाबी, भावनात्मक अभिव्यक्ति वा समानान्तर संरचना निर्माण गर्ने प्रयासले कांग्रेसको संस्थागत स्वरूप कमजोर हुने उनको भनाइ थियो ।
उनले कांग्रेसका सबै नेता तथा कार्यकर्तालाई विधान, महाधिवेशनको निर्णय र संस्थागत प्रक्रियालाई सम्मान गर्दै अघि बढ्न आग्रह गरे । पार्टीको नेतृत्व र वैधानिकताबारे अनावश्यक विवाद सिर्जना गर्नुभन्दा संगठनलाई बलियो बनाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने शर्माको धारणा छ ।








Facebook Comments