
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी विभाजन गरेर नयाँ दल गठन गर्ने पक्षमा आफू नरहेको स्पष्ट पारेका छन् । उनले कांग्रेसभित्र देखिएका विवाद संवाद र आपसी छलफलबाटै समाधान गर्नुपर्ने धारणा राखेका छन् ।
शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले आगामी १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने आफ्नो चाहना रहेको बताए । यद्यपि, व्यक्तिगत इच्छाभन्दा पार्टीका नेता तथा कार्यकर्ताको सुझाव र परामर्शलाई प्राथमिकता दिएर अन्तिम निर्णय लिने उनको भनाइ छ ।
उनले नेता डा. शेखर कोइरालासँग आफ्नो राम्रो समझदारी रहेको उल्लेख गर्दै शेखर सभापतिको उम्मेदवार बने आफूले समर्थन गर्ने बताए । ‘सभापतिका लागि म पनि इच्छुक छु, तर मैले चाहेर मात्रै हुँदैन । साथीहरूको कुरा सुन्नुपर्छ,’ उनले भने, ‘शेखरजी र मबीच राम्रो समझदारी छ । उहाँ सभापतिमा उठ्नुभयो भने म सहयोग गर्छु ।’
कांग्रेसभित्रको पछिल्लो विवाद, सम्भावित कानुनी निर्णय र त्यसपछि पार्टी विभाजन हुन सक्ने चर्चाबारे सोधिएको प्रश्नमा कोइरालाले त्यस्तो सम्भावना नरहेको दाबी गरे । आफू कुनै पनि अवस्थामा पार्टी फुटाउने वा छुट्टै दल गठन गर्ने पक्षमा नरहेको उनको भनाइ छ ।
‘म अर्को पार्टी खोल्ने वा कांग्रेस फुटाउने पक्षमा विल्कुलै छैन,’ कोइरालाले भने, ‘जस्तोसुकै परिस्थिति आए पनि आपसमा बसेर छलफल र संवादमार्फत समाधान खोज्नुपर्छ ।’
कांग्रेसको आगामी राजनीतिक प्राथमिकता पनि उनले परिवर्तन गर्नुपर्ने बताए । संविधान निर्माणको मूल राजनीतिक कार्यभार पूरा भइसकेकाले अब पार्टीले विकास, आर्थिक समृद्धि र जनजीविकाका विषयलाई केन्द्रमा राख्नुपर्ने उनको भनाइ छ ।
उनका अनुसार कांग्रेसले विगतका राजनीतिक विवादमा अल्झिनुभन्दा संगठनलाई नयाँ ढंगले अघि बढाउँदै मुलुकको आर्थिक विकासमा स्पष्ट दृष्टिकोण बनाउन आवश्यक छ । ‘संविधान प्राप्त भइसकेको अवस्थामा अब देशको विकास कसरी गर्ने भन्ने मुख्य प्रश्न हो,’ उनले भने, ‘अब कांग्रेस नयाँ, संगठित र नयाँ दिशाका साथ अघि बढ्नुपर्छ ।’
कोइरालाको पछिल्लो अभिव्यक्तिले कांग्रेसभित्र आगामी महाधिवेशनलाई लिएर नेतृत्वको प्रतिस्पर्धा भइरहे पनि पार्टी विभाजनको बाटोमा नजाने उनको स्पष्ट संकेत देखिएको छ । साथै, सभापति पदमा आफ्नो आकांक्षा हुँदाहुँदै पनि शेखर कोइराला अघि बढे उनलाई समर्थन गर्ने उनको भनाइले आगामी महाधिवेशनको समीकरणबारे पनि चासो बढाएको छ ।








Facebook Comments