
काठमाडौं । व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंको भक्तपुरस्थित निवासमा प्रहरीले लगातार निगरानी बढाएको छ । शुक्रबार घरमा पुगेको प्रहरी शनिबार दिउँसो पनि उनको निवासमा पुगेको हो ।
प्रहरी टोली पटक–पटक घरमै पुग्नुको कारणबारे भक्तपुर प्रहरी परिसरले भने स्पष्ट जानकारी दिएको छैन । परिसरका प्रवक्ता डीएसपी दीपककुमार कार्कीले प्रहरीको उपस्थितिबारे थप विवरण सार्वजनिक गर्न चाहेनन् ।
प्रसाईंको आह्वानमा मिटरब्याज पीडित, सहकारी तथा लघुवित्तका पीडित र सुकुम्वासीहरू विभिन्न जिल्लाबाट पैदलमार्च गर्दै काठमाडौं आएका छन् । उनीहरू करिब २० दिनको पैदल यात्रापछि बिहीबार काठमाडौं आइपुगेका थिए ।
काठमाडौं आएका आन्दोलनकारीले शुक्रबार राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय अगाडि सडकमा बसेर चिउरा खाएका थिए । उनीहरूले आफ्ना माग सम्बोधन गर्न सरकारमाथि दबाब दिँदै आन्दोलन जारी राखेका छन् ।
प्रहरीले भने प्रसाईं स्वयं आन्दोलनमा सहभागी हुँदा काठमाडौंको शान्ति सुरक्षा प्रभावित हुन सक्ने आकलन गरेको बताइएको छ । यही पृष्ठभूमिमा उनको गतिविधिमाथि निगरानी बढाइएको र त्यसैक्रममा प्रहरी उनको निवासमा पुग्ने गरेको बुझिएको छ ।
प्रसाईं नेतृत्वको अभियानले लामो समयदेखि बैंक तथा वित्तीय संस्था, सहकारी, लघुवित्त र मिटरब्याजका कारण समस्यामा परेका नागरिकका मुद्दा उठाउँदै आएको छ । पछिल्लो आन्दोलनमा विभिन्न जिल्लाका पीडितहरूलाई काठमाडौं ल्याएर सरकारमाथि दबाब सिर्जना गर्ने रणनीति अपनाइएको छ ।
यद्यपि, प्रहरीले प्रसाईंको घरमा लगातार उपस्थिति जनाउनुको औपचारिक कारण सार्वजनिक नगरेकाले यो नियमित सुरक्षा निगरानी हो वा आन्दोलनसँग सम्बन्धित अन्य कुनै तयारी, त्यसबारे स्पष्ट हुन सकेको छैन । प्रसाईंको निवासमा प्रहरी पुग्ने क्रम बढेसँगै उनको नेतृत्वमा काठमाडौंमा भइरहेको आन्दोलन र सुरक्षा निकायबीचको तनाव थप बढ्न सक्ने देखिएको छ ।








Facebook Comments