
काठमाडौं । डा. धवलशमशेर राणाको नेतृत्वमा ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ताका लागि निवेदन परेको छ। शुक्रबार राणा नेतृत्वको समूहले आयोग पुगेर नयाँ राजनीतिक दल दर्ताको प्रक्रिया अघि बढाएको हो।
पार्टीका नेता सगुन लावतीका अनुसार ७९ सदस्यीय केन्द्रीय समितिको सूचीसहित दल दर्ताका लागि निवेदन दिइएको छ। प्रस्तावित संरचनामा धवलशमशेर राणा सभापति रहने र अन्य सदस्यहरू केन्द्रीय समितिमा रहने व्यवस्था गरिएको छ।
लावतीले पार्टीको चुनाव चिह्नका रूपमा त्रिभुज प्रस्ताव गरिएको जानकारी दिए। पार्टीको विधानमा भने ४५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरिएको छ।
राणा र अभियन्ता दुर्गा प्रसाईंबीच नयाँ राजनीतिक दल गठन गर्ने विषयमा यसअघि सहमति बनेको थियो। तर दलको नेतृत्व, संगठनात्मक संरचना लगायतका विषयमा सहमति कायम हुन नसकेपछि उक्त सहकार्य टुटेको हो।
प्रसाईंसँगको सहमति भंग भएपछि राणा पक्षले छुट्टै दल गठन गरेर निर्वाचन आयोगमा दर्ताको प्रक्रिया अघि बढाएको हो। नयाँ दलले आगामी राजनीतिक यात्राका लागि संगठन विस्तार र आवश्यक तयारीलाई अघि बढाउने जनाएको छ।








Facebook Comments