
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वर्तमान सरकार असफल होस् भन्ने आफ्नो पार्टीको चाहना नरहेको बताएका छन्।
शुक्रबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले प्रतिपक्षमा रहेको दलले सामान्यतः सरकारको असफलता चाहने गरे पनि कांग्रेसले त्यस्तो सोच नराखेको स्पष्ट पारे।
उनले सरकारको नीति तथा कार्यक्रम असफल हुँदा त्यसको असर सिंगो समाजमा पर्ने र जनतामा थप निराशा पैदा हुने भएकाले कांग्रेसले सरकारका सकारात्मक काममा सहयोग गर्ने नीति लिएको बताए।
प्रतिनिधिसभामा कांग्रेसले अवरोध गरिरहँदा राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्न सहयोग गरेको उदाहरण दिँदै शर्माले सरकारको असफलता नभई लोकतान्त्रिक प्रक्रियाबाट सरकारलाई जिम्मेवार बनाउने कांग्रेसको उद्देश्य रहेको बताए।
शर्माले कांग्रेस पछिल्लो समय विगतको भन्दा फरक ढंगले अघि बढिरहेको दाबी पनि गरे। पार्टीले सुरु गरेको नयाँ अभियानलाई सबै नेता तथा कार्यकर्ताले आत्मसात गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ छ।
उनले पार्टीभित्रको कुनै समूह विशेषलाई संकेत गर्दै केन्द्रले अघि सारेको परिवर्तनको अभियानमा सबै पक्ष सहभागी हुनुपर्ने बताए। कांग्रेस विधि, पद्धति र प्रक्रियामार्फत परिवर्तनको नयाँ चरणमा प्रवेश गरिसकेको शर्माको दाबी छ।
निवर्तमान सभापति शेरबहादुर देउवा काठमाडौं फर्किएपछि कांग्रेसले गरेको स्वागतको प्रसंग उल्लेख गर्दै शर्माले देउवाबाट पार्टीका सबै नेता तथा कार्यकर्ताको कुरा सुन्ने प्रतिबद्धता व्यवहारमा देखिने अपेक्षा व्यक्त गरे।
देउवाले आफ्नो लिखित अभिव्यक्तिमा परिवर्तनलाई आत्मसात गर्ने र युवालाई अगाडि बढाउने विषय उल्लेख गरेको भन्दै शर्माले आगामी राष्ट्रिय सम्मेलनले पनि यी विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
शर्माका अनुसार कांग्रेसभित्र नेतृत्व, संगठन र कार्यशैलीमा परिवर्तनको बहस अघि बढिरहेको छ। त्यसलाई व्यक्तिगत गुट वा समूहको विषय नबनाई संस्थागत रूपमा अघि बढाउनुपर्ने उनको धारणा छ।
उनले पार्टीका सबै नेता तथा कार्यकर्तालाई बदलिँदो कांग्रेसको वास्तविकता बुझेर नयाँ अभियानमा सहभागी हुन आग्रहसमेत गरे।








Facebook Comments