काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब पार्टीमा युवा नेतृत्वलाई स्वीकार्न सक्नुपर्ने बताएका छन् ।

सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै उपसभापति शर्माले परिवर्तन र युवा सहभागितालाई विधि र पद्धतिअनुसार अगाडि बढाउनुपर्ने बताए । पूर्वसभापति शेरबहादुर देउवाको स्वदेश फिर्तीलाई स्वागत गर्दै उपसभापति शर्माले देउवाबाट सबै पक्षलाई समेट्ने र एकताको सन्देश प्रवाह हुने अपेक्षा गरिएको पनि बताए । 

ad

संस्थापन इतर पक्षका नेताहरूतर्फ लक्षित गर्दै उनले फेरि पनि देउवा प्रधानमन्त्री बन्नुपर्छ भन्दै जयजयकार गाउनेहरूका कारण देउवाको उचाइ नबढ्ने बताए ।  

विशेष महाधिवेशनबाट निर्वाचित भएर अहिले सानेपामा बस्ने नेताहरू पनि कुनै समय देउवाको साथमा उभिएका नेताहरू भएको स्मरण गर्दै उपसभापति शर्माले आफूहरूलाई विरोधी नसोच्न आग्रह समेत गरे । 
उपसभापति शर्माले ‘युवालाई अगाडि बढाउने विषयमा हामीले ३६ वर्षको युवक देशको प्रधानमन्त्री भएको इतिहासलाई आत्मसात गरेका छौँ भने ५० वर्ष हाराहारीको युवाले पार्टीको नेतृत्व गर्ने कुरालाई पनि सहज रूपमा स्वीकार्नुपर्ने बताए ।