काठमाडौं । सरकारले हाल लागू गरेको हप्तामा दुई दिन सार्वजनिक बिदाको व्यवस्था तत्काल पुनरवलोकन नगर्ने स्पष्ट पारेको छ।

बिहीबार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री बालेन शाहका तर्फबाट जवाफ दिँदै कानूनमन्त्री सोविता गौतमले दुई दिने सार्वजनिक बिदा हटाउने वा पुनरवलोकन गर्ने विषयमा सरकारले कुनै निर्णय नगरेको बताइन्।

ad

राष्ट्रियसभा सदस्य विष्णुबहादुर विश्वकर्माले दुई दिनको बिदाले सर्वसाधारणलाई असहज भएको तथा विद्यालयको पठनपाठनसमेत प्रभावित भएको भन्दै सरकारको धारणा मागेका थिए।

जवाफमा मन्त्री गौतमले दुई दिन सार्वजनिक बिदा दिँदा इन्धनको खपत घटेको र आन्तरिक पर्यटनमा सकारात्मक प्रभाव परेको सरकारको निष्कर्ष रहेको बताइन्। यी कारणले पनि तत्काल बिदा पुनरवलोकन गर्ने अवस्था नरहेको उनको भनाइ थियो।

प्रधानमन्त्री शाह राष्ट्रियसभा बैठकमा उपस्थित नभएपछि उनको तर्फबाट मन्त्री गौतमले सांसदको प्रश्नको जवाफ दिएकी हुन्।

प्रधानमन्त्रीलाई संसद्मा प्रत्यक्ष रूपमा प्रश्नोत्तर गराउने विषय भने पछिल्लो समय प्रतिनिधिसभामा नियमित रूपमा उठ्दै आएको छ।