
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू लामो राजनीतिक जीवनमा कुनै आर्थिक अनियमिततामा संलग्न नभएको दाबी गर्दै कानुनी प्रक्रिया र अदालतसँग नडराउने बताएका छन्।
करिब पाँच महिनाको वैदेशिक बसाइपछि बिहीबार नेपाल फर्किएका देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अदालतमा पटक–पटक उपस्थित हुनुपर्ने अवस्था आए पनि आफू त्यसबाट विचलित नहुने बताएका हुन्।
उनले आफ्नो पाँच दशक लामो राजनीतिक यात्रामा आफूले आर्थिक अनियमितता गरेको प्रमाण कसैले देखाउन नसक्ने दाबी गरे। ‘अदालतसम्म गएको छ, पटक–पटक बोलाउँछ । तर केही छैन भन्छ,’ देउवाले भने, ‘५० वर्ष काम गर्दा एक रुपैयाँ पनि तलमाथि गरेको कुरा छैन।’
आफूमाथि जस्तोसुकै कानुनी प्रक्रिया अघि बढे पनि त्यसको सामना गर्ने बताउँदै देउवाले विगतमा राजा ज्ञानेन्द्रले समेत आफूलाई रोक्न नसकेको स्मरण गरे। ‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्लान् र ?’ उनले प्रश्न गरे।
स्वास्थ्य उपचारका लागि सिंगापुर र हङकङमा करिब पाँच महिना बिताएका देउवा बिहीबार स्वदेश फर्किएका हुन्। उनलाई कांग्रेसका नेता तथा कार्यकर्ताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजासहित स्वागत गरेका थिए।
नेपाल फर्किएलगत्तै देउवाले राष्ट्रिय एकता, राजनीतिक सहकार्य र कांग्रेसभित्रको एकतामा जोड दिँदै आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले आफू राजनीतिक पद वा शक्ति प्राप्त गर्ने उद्देश्यले सक्रिय हुन नआएको स्पष्ट पार्दै देशको वर्तमान परिस्थितिमा राष्ट्रिय एकता मजबुत बनाउनु आवश्यक रहेको बताएका छन्।
देउवाले राष्ट्रवादी र लोकतान्त्रिक शक्तिबीच सहकार्य अहिलेको आवश्यकता भएको बताएका छन्। उनले २०३३ सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्किएको प्रसंग स्मरण गर्दै त्यतिबेला अघि सारिएको राष्ट्रिय एकता र मेलमिलापको सन्देश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरेका छन्।
राजनीतिक प्रतिशोध र विभाजनभन्दा संवाद, सहमति र सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा देउवाको जोड छ। उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशको हितलाई केन्द्रमा राखी राजनीतिक शक्तिहरूबीच सहकार्य हुनुपर्ने बताएका छन्।
कांग्रेसभित्र देखिएको असहमति र निराशाप्रति पनि देउवाले गम्भीर चासो व्यक्त गरेका छन्। पार्टीभित्रको विवादलाई लामो समयसम्म तन्काउँदा त्यसले कांग्रेस मात्र नभई राष्ट्रिय राजनीतिमै असर पार्न सक्ने भन्दै उनले आन्तरिक समस्या तत्काल समाधान गर्नुपर्ने बताएका छन्।
कांग्रेसलाई पुनः एकताबद्ध बनाएर अन्य राजनीतिक दलसँग समेत सहमति र सहकार्यका आधारमा अघि बढ्नुपर्ने उनको धारणा छ। संसदमा कांग्रेसको संख्यात्मक अवस्था जस्तोसुकै भए पनि २००७ सालदेखि मुलुकका महत्वपूर्ण राजनीतिक परिवर्तनमा पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकाले राष्ट्रिय राजनीतिमा यसको जिम्मेवारी अझै महत्वपूर्ण रहेको देउवाले बताएका छन्।
उनले कांग्रेसका नेता तथा कार्यकर्तालाई व्यक्तिगत आग्रह, पूर्वाग्रह र अहंकारभन्दा माथि उठ्न आग्रह गरेका छन्। नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउनुपर्ने आवश्यकता स्वीकार गर्दै देउवाले अनुभवी तथा पुराना नेताहरू सबै खराब हुन् भन्ने धारणा बनाउनु उचित नहुने बताएका छन्।
पार्टीभित्र देखिएका विभिन्न धार र असन्तुष्टिलाई संवादमार्फत समेटेर अघि बढ्ने समय आएको भन्दै उनले नेता तथा कार्यकर्तालाई एकताको पक्षमा सक्रिय हुन आह्वान गरेका छन्।
जनताको सर्वोच्च हितलाई केन्द्रमा राखेर कांग्रेस अघि बढ्नुपर्ने उल्लेख गर्दै देउवाले पार्टी र लोकतन्त्रका लागि विगतमा भएका संघर्ष, त्याग तथा बलिदानलाई सम्मान गर्दै भविष्यको राजनीतिक बाटो तय गर्नुपर्नेमा जोड दिएका छन्।








Facebook Comments