काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति आपत्ति जनाउँदै उनलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन् ।

समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु लोकतान्त्रिक व्यवस्थाका लागि सकारात्मक संकेत नभएको कोइरालाको भनाइ छ । उनले श्रेष्ठको पक्राउ नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत रहेको बताएका छन् ।

ad

कोइरालाले पत्रकारिता र अभिव्यक्तिको अधिकारमाथि हुने हस्तक्षेपले लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर बनाउने भन्दै सरकारलाई यस्ता गतिविधि नगर्न आग्रह गरेका छन् ।

उनले जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठलाई अविलम्ब रिहा गर्न माग गर्दै प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

श्रेष्ठलाई प्रहरीले बुधबार पक्राउ गरेको थियो । उनको पक्राउपछि पत्रकारिता क्षेत्र तथा राजनीतिक वृत्तबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयमा प्रश्न उठ्न थालेको छ ।