
काठमाडौं । झण्डै पाँच महिनाको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सार्वजनिक वक्तव्यमार्फत पार्टीभित्रको पुस्तान्तरण, नेतृत्व विवाद र वर्तमान राजनीतिक परिस्थितिबारे संकेतपूर्ण सन्देश दिएका छन् ।
बिहीबार काठमाडौं आइपुगेका देउवाले आफू राजनीतिक शक्ति हासिल गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न सक्रिय हुन फर्किएको बताएका छन् । उनको वक्तव्यमा वर्तमान कांग्रेस नेतृत्वप्रति प्रत्यक्ष आलोचना छैन । बरु युवा पुस्तालाई अघि बढाउनुपर्ने आवश्यकतालाई स्वीकार गर्दै अनुभवी पुस्तालाई अवमूल्यन गर्न नहुने धारणा राखिएको छ ।
यसलाई कांग्रेसभित्र पछिल्लो समय चलिरहेको पुस्तान्तरण र नेतृत्व विवादका सन्दर्भमा देउवा तुलनात्मक रूपमा नरम देखिएको संकेतका रूपमा लिन सकिन्छ ।
देउवाले वक्तव्यमा कांग्रेस सभापति गगनकुमार थापाको नाम उल्लेख गरेका छैनन् । तर युवा पुस्तालाई नेतृत्वमा अघि बढाउनुपर्ने र त्यस क्रममा पुरानो पुस्ताको योगदानलाई नकार्न नहुने उनको भनाइले पार्टीभित्रको पछिल्लो पुस्तान्तरण बहसलाई सम्बोधन गरेको देखिन्छ ।
‘युवा पुस्तालाई अघि बढाउनुपर्छ, तर पाका र अनुभवी सबै खराब हुन् भन्ने भाष्य गलत हो’ भन्ने देउवाको सन्देशले नयाँ र पुरानो पुस्ताबीच सहअस्तित्व आवश्यक रहेको धारणा अघि सारेको छ ।
आफूले लामो राजनीतिक यात्राबाट हासिल गरेको अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्नु आफ्नो दायित्व भएको उनले बताएका छन् । यसले अब आफू सक्रिय राजनीतिक प्रतिस्पर्धाभन्दा अनुभव हस्तान्तरण र पार्टीलाई सहजीकरण गर्ने भूमिकामा रहन चाहेको संकेतसमेत गरेको छ ।
देउवाले कांग्रेसभित्र देखिएको असहमति र निराशा तत्काल अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । पार्टी एकताबद्ध भएर अन्य राजनीतिक दलसँग सहमति र सहकार्यका आधारमा अघि बढ्नुपर्ने उनको भनाइ छ ।
कांग्रेसजस्तो ठूलो दलभित्रको विवादले राष्ट्रिय राजनीतिलाई समेत प्रभावित गर्ने भन्दै उनले पार्टीको आन्तरिक समस्या समाधानलाई प्राथमिकता दिनुपर्ने सन्देश दिएका छन् ।
वक्तव्यमा प्रत्यक्ष रूपमा कसैको नाम नलिइए पनि नेतृत्व, पुस्तान्तरण र पार्टीभित्रको असहमतिबारे देउवाको धारणा वर्तमान नेतृत्वका लागि अप्रत्यक्ष राजनीतिक सन्देशका रूपमा आएको देखिन्छ ।
देउवाले गत भदौमा भएको जेनजी आन्दोलनमार्फत युवा पुस्ताले उठाएका परिवर्तनका जायज माग सम्बोधन गर्नुपर्ने बताएका छन् । आफूले त्यतिबेलै ती माग सम्बोधन गर्नुपर्ने धारणा राखेको स्मरण गराउँदै उनले कांग्रेसले पनि युवाको परिवर्तनको चाहनालाई आत्मसात् गरेको बताएका छन् ।
उनका अनुसार समय बदलिएको छ र राजनीतिक दलहरू पनि परिवर्तनको गतिसँगै अघि बढ्नुपर्छ । तर परिवर्तनका नाममा विगतको पुस्ताको संघर्ष र योगदानलाई अस्वीकार गर्नु उचित नहुने उनको स्पष्ट धारणा छ ।
वर्तमान सरकारप्रति देउवा वक्तव्यमा प्रत्यक्ष रूपमा आक्रामक देखिएका छैनन् । बरु उनले जनतामा देखिएको परिवर्तनको आकांक्षा सम्बोधन गर्नु सरकारको दायित्व भएको बताएका छन् ।
ताजा जनादेशबाट बनेको सरकारले जनताको मत र अपेक्षाको सम्मान गर्नुपर्ने उनको भनाइ छ । परिवर्तन व्यवस्थापनको प्रक्रियामा कांग्रेस सहयोग गर्न तयार रहेको भन्दै उनले परिवर्तनलाई विवेक, पारदर्शिता र न्यायका आधारमा अघि बढाउनुपर्ने बताएका छन् ।
यसबाट देउवाले सरकारलाई राजनीतिक प्रतिशोध वा आग्रह–पूर्वाग्रहभन्दा जनताको परिवर्तनको चाहना पूरा गर्न केन्द्रित हुनुपर्ने सन्देश दिएको देखिन्छ ।
स्वदेश फर्किएलगत्तै देउवाले आफ्नो राजनीतिक भूमिकालाई पनि नयाँ ढंगले परिभाषित गरेका छन् । ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’ भन्दै उनले आफू पद र शक्तिको प्रतिस्पर्धामा नरहेको सन्देश दिएका छन् ।
उनले बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति स्मरण गर्दै अहिले पनि सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन् । विगतका विभाजन र विद्वेषका घाउ निको पार्न प्रतिशोधको सट्टा मेलमिलापको बाटो रोज्नुपर्ने उनको धारणा छ ।
देउवाले वर्तमान संविधान लामो संघर्ष र बलिदानको उपलब्धि भएको भन्दै यसको संरक्षणमा जोड दिएका छन् । आवश्यक संशोधन पनि राष्ट्रिय सहमतिका आधारमा हुनुपर्ने उनको धारणा छ ।
कांग्रेससहित सबै राजनीतिक शक्तिबीच सहमति र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले लोकतन्त्र, राष्ट्रियता र संविधानलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताएका छन् ।
समग्रमा देउवाको वक्तव्यमा नयाँ पुस्ताको नेतृत्वलाई स्वीकार गर्ने, पुरानो पुस्ताको योगदानको रक्षा गर्ने, कांग्रेसभित्रको विवाद अन्त्य गर्ने र राष्ट्रिय सहमतिको वातावरण बनाउने चारवटा मुख्य सन्देश देखिन्छन् । गगन थापाको नाम नलिए पनि पुस्तान्तरण र पार्टी एकताबारे व्यक्त धारणाले कांग्रेसको आन्तरिक राजनीतिमा उनको आगामी भूमिकाबारे भने चासो बढाएको छ ।








Facebook Comments