
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू राजनीतिक शक्ति हासिल गर्ने उद्देश्यले नभई राष्ट्रिय एकता सुदृढ गर्ने प्रतिबद्धतासहित स्वदेश फर्किएको बताएका छन् ।
झण्डै पाँच महिनाको स्वास्थ्य उपचारपछि बिहीबार नेपाल फर्किएका देउवाले जारी गरेको अपिलमा मुलुकलाई अहिले सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका हुन् । उनले विगतका विभाजन र विद्वेषबाट उत्पन्न घाउ निको पार्न प्रतिशोधको बाटो त्यागेर मेलमिलाप र सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।
‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु,’ देउवाले अपिलमा भनेका छन् ।
उनले २०३३ सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्किँदा राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिलाई एकताबद्ध हुन आह्वान गरेको प्रसंग स्मरण गर्दै अहिले पनि राष्ट्रिय एकतालाई थप मजबुत बनाउने समय आएको उल्लेख गरेका छन् । उनका अनुसार बदलिएको राजनीतिक परिस्थितिमा सबै पक्षबीच सहमति र सहकार्य आवश्यक छ ।
देउवाले नेपाली कांग्रेसले युवा पुस्ताले उठाएका परिवर्तनका मागलाई आत्मसात् गरेको पनि बताएका छन् । गत भदौमा भएको जेनजी आन्दोलनका जायज माग सम्बोधन गर्नुपर्ने धारणा आफूले त्यतिबेलै राखेको उल्लेख गर्दै उनले समयअनुकूल परिवर्तनलाई स्वीकार गर्नुपर्ने बताएका हुन् ।
उनका अनुसार नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्नु आवश्यक भए पनि त्यसका नाममा अघिल्लो पुस्ताको योगदानलाई अवमूल्यन गर्नु उचित हुँदैन । लोकतन्त्र, स्वतन्त्रता तथा विभिन्न जातजाति, क्षेत्र र समुदायका अधिकारका लागि आफ्नो पुस्ताले गरेको संघर्ष र बलिदानलाई नकारात्मक भाष्यबाट हेर्न नहुने उनको भनाइ छ ।
देउवाले वर्तमान सरकारको प्रमुख दायित्व जनताको परिवर्तनको आकांक्षा सम्बोधन गर्नु रहेको बताएका छन् । ताजा जनादेशबाट बनेको सरकारले जनमतको सम्मान गर्दै जनताको अपेक्षाअनुसार काम गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
परिवर्तनको प्रक्रियामा नेपाली कांग्रेस सहयोग गर्न तयार रहेको उल्लेख गर्दै देउवाले परिवर्तनलाई अन्धाधुन्ध नभई विवेक, पारदर्शिता र न्यायका आधारमा व्यवस्थापन गर्नुपर्ने धारणा राखेका छन् ।
कांग्रेसभित्र देखिएको असहमति र निराशालाई तत्काल सम्बोधन गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् । पार्टी एकताबद्ध भएर अन्य राजनीतिक दलसँग सहमति र सहकार्यका आधारमा अघि बढ्नुपर्ने उनको भनाइ छ । कांग्रेसजस्तो ठूलो दलमा विवाद हुँदा त्यसको असर राष्ट्रिय राजनीतिमा समेत पर्ने उनले चेतावनी दिएका छन् ।
संविधान नेपाली जनताको लामो संघर्ष र बलिदानको उपलब्धि भएको भन्दै देउवाले यसको संरक्षणसँगै आवश्यक संशोधन पनि राष्ट्रिय सहमतिका आधारमा गर्नुपर्ने बताएका छन् ।
युवा पुस्तालाई नेतृत्वमा अघि बढाउनुपर्ने भए पनि पाका र अनुभवी पुस्तालाई पूर्ण रूपमा असफल वा खराब देखाउने प्रवृत्ति उचित नभएको उनको धारणा छ । आफूले आर्जन गरेको राजनीतिक अनुभव नयाँ पुस्तासँग बाँड्नु आफ्नो दायित्व भएको उनले बताएका छन् ।
माओवादी सशस्त्र द्वन्द्व, विभिन्न राजनीतिक उतारचढाव तथा कांग्रेसभित्रका विवाद समाधानमा आफूले खेलेको भूमिकाबाट प्राप्त अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्ने प्रतिबद्धता पनि देउवाले व्यक्त गरेका छन् ।
कांग्रेसले निरन्तर आत्मसमीक्षा गर्दै कमजोरी सुधार गर्नुपर्ने उल्लेख गर्दै उनले पार्टीको आगामी यात्रा निरन्तर सुधारको हुनुपर्ने बताएका छन् ।
सार्वजनिक जीवनमा आफूले विभिन्न आलोचना सामना गरे पनि राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोच्च प्राथमिकतामा राखेर काम गरेको देउवाको दाबी छ । बाँकी जीवन पनि राष्ट्र र जनताको हित तथा संविधान, कानुन र लोकतान्त्रिक मूल्य–मान्यताप्रति प्रतिबद्ध भएर बिताउने उनले बताएका छन् ।
स्वास्थ्य उपचारपछि स्वदेश फर्किँदा स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति आभार व्यक्त गर्दै देउवाले अब आफूलाई नेताभन्दा पनि राष्ट्रको आजीवन नागरिकका रूपमा जनसेवामा समर्पित गर्ने बताएका छन् ।
‘म नेता बनेर होइन, यस महान राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु– विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर,’ उनले अपिलमा भनेका छन् ।








Facebook Comments