
हेटौँडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियालाई पदबाट हटाउने तयारी अघि बढाइएको छ। उनलाई संसदीय दलको नेताबाट हटाउन प्रदेश संसदीय दलको कार्यालयमा अविश्वास प्रस्ताव दर्ता भएको बताइएको छ।
पार्टीभित्रको आन्तरिक समीकरणमा आएको फेरबदलसँगै थपलियाविरुद्ध अविश्वास प्रस्ताव अघि बढाइएको स्रोतको दाबी छ।
स्रोतका अनुसार थपलियालाई दलको नेताबाट हटाएर किरण थापामगरलाई नयाँ संसदीय दलको नेता बनाउने तयारी भइरहेको छ। त्यसका लागि केही समयअघि नै प्रदेश सांसदहरूको हस्ताक्षर संकलन गरिएको बताइएको छ।
थपलियाले बागमती प्रदेशसभामा एमाले संसदीय दलको नेतृत्व गर्दै आएका छन्। उनी यसअघि प्रदेश सरकारमा आर्थिक मामिला तथा योजनामन्त्रीसमेत भइसकेका थिए।
अविश्वास प्रस्ताव दर्ता भएसँगै एमाले बागमती प्रदेश संसदीय दलभित्रको विवाद सतहमा आएको छ। प्रस्तावमाथि संसदीय दलको बैठक बोलाएर आवश्यक प्रक्रिया अघि बढाउने तयारी रहेको स्रोतले जनाएको छ।
थपलियालाई हटाउने प्रयास सफल भए किरण थापामगरले एमाले संसदीय दलको नयाँ नेताका रूपमा जिम्मेवारी सम्हाल्नेछन्। यद्यपि, प्रस्ताव पारित गर्न आवश्यक समर्थन र आगामी प्रक्रियाबारे एमालेभित्र थप छलफल हुने बताइएको छ।









Facebook Comments