विराटनगर । कोशी प्रदेश सरकारमा रहेको नेपाली कांग्रेस बाहिरिएको छ। प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकपछि कांग्रेसबाट सरकारमा सहभागी चार मन्त्री र एक राज्यमन्त्रीले पदबाट राजीनामा दिएका छन्।

एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच भएको तीनबुँदे सहमतिपछि प्रदेशको सत्ता समीकरण फेरिएसँगै कांग्रेस सरकारबाट बाहिरिएको हो।

ad

सत्ता समीकरण परिवर्तन भएपछि कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएसँगै अब कोशी प्रदेश सरकारमा नेकपालाई सहभागी गराउने बाटो खुलेको छ। एमाले र नेकपाबीच भएको सहमतिअनुसार प्रदेश सरकारको संरचनामा समेत फेरबदल हुने तयारी छ।

यसअघि कोशी प्रदेश सरकारमा एमाले र कांग्रेसबीच मन्त्रालय बाँडफाँट भएको थियो। एमालेले आर्थिक मामिला तथा योजना, आन्तरिक मामिला तथा कानुन, खानेपानी तथा सिँचाइ र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएको थियो।

कांग्रेसको भागमा भने भौतिक पूर्वाधार विकास, उद्योग, कृषि तथा सहकारी, स्वास्थ्य र पर्यटन तथा वन तथा वातावरण मन्त्रालय थिए।

अब कांग्रेसका मन्त्रीले छाडेका मन्त्रालयमा नयाँ सत्ता साझेदार नेकपाबाट मन्त्री नियुक्त गर्ने तयारी हुने देखिएको छ।

एमाले र नेकपाबीचको सहमतिपछि केन्द्रमा मात्र नभई प्रदेश सरकारमा समेत सत्ता समीकरण परिवर्तनको प्रक्रिया अघि बढेको हो। कोशीमा कांग्रेसको बहिर्गमनसँगै प्रदेश सरकारको आगामी संरचना र मन्त्रालय बाँडफाँटबारे नयाँ छलफल हुने भएको छ।