काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच पछिल्लो समय राजनीतिक संवाद बाक्लिएको छ। प्रत्यक्ष भेटघाटसँगै दुई नेताबीच टेलिफोन संवादसमेत निरन्तर भइरहेको दाहाल स्वयंले बताएका छन्।

सोमबार पत्रकारहरूसँग कुरा गर्दै दाहालले लामिछानेसँग नियमित संवाद भइरहेको र कतिपय राजनीतिक विषयमा आफूहरूबीच सल्लाहसमेत हुने गरेको बताए।‘तुलनात्मक रूपमा राजनीतिक परिपक्वता रविमै रहेछ भन्ने त सबैले महसुस गरेकै कुरा छ,’ दाहालले भने, ‘फेरि मेरो त गुन तिर्नुपर्ने पनि छ।’

ad

लामिछानेमाथि सहकारी रकम हिनामिनासम्बन्धी अनुसन्धान अघि बढ्दा तत्कालीन सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै दाहालले उनको बचाउ गरेका थिए। त्यही सम्बन्ध र विगतको सहकार्यलाई स्मरण गर्दै दाहालले आफूले लामिछानेको पक्षमा संसद् र सार्वजनिक रूपमा धारणा राखेको तथा जेलमै पुगेर भेटेको बताए।

दाहाल र लामिछानेबीच सिंहदरबारमा समेत भेटवार्ता भएको छ। लामिछानेसँगै डीपी अर्याल र विराजभक्त श्रेष्ठ आफू नेतृत्वको मन्त्रिपरिषद्मा रहेर काम गरिसकेकाले उनीहरूलाई बुझ्न आफूलाई कठिन नभएको दाहालले बताए।‘उहाँहरूलाई बुझ्न मलाई गाह्रो छैन। उहाँहरूलाई भन्न पनि गाह्रो छैन, मेरो रेगुलर नै संवाद भइराखेको छ। कैयौँ सल्लाह मिलिराखेको छ,’ दाहालले भने।

दाहालका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार दुई नेताबीचका पछिल्ला संवादमा राजनीतिक स्थायित्व, सुशासन र संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षणजस्ता विषयले प्राथमिकता पाएका छन्।

उनका अनुसार दाहालले रास्वपा नेतृत्वको सरकारलाई राजनीतिक स्थिरता कायम गर्न, सुशासनलाई प्राथमिकता दिन र संविधानको रक्षा गर्दै अघि बढ्न सुझाव दिँदै आएका छन्।

दाहाल र लामिछानेको सम्बन्ध भने अहिलेको राजनीतिक समीकरणबाट मात्रै बनेको होइन। करिब १३ वर्षअघि लामिछाने सक्रिय पत्रकार रहेका बेला उनीहरूले पहिलोपटक सार्वजनिक रूपमा लामो संवाद गरेका थिए।

लामिछानेले सञ्चालन गरेको ‘विश्वले चिन्ने छ नेपाल’ नामक म्याराथन टेलिभिजन अन्तर्वार्तामा तत्कालीन माओवादी अध्यक्ष दाहाल पहिलो अतिथि बनेका थिए। ६२ घण्टा १२ मिनेट लामो उक्त कार्यक्रम त्यसबेला चर्चामा आएको थियो।

त्यही भेटबाट सुरु भएको नेता–पत्रकार सम्बन्ध २०७९ को आमनिर्वाचनपछि नेता–नेताबीचको सम्बन्धमा बदलियो। लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर प्रतिनिधिसभामा महत्वपूर्ण शक्ति स्थापित गरेपछि उनी र दाहाल एउटै सरकारमा समेत सहभागी भए।

२०७९ पुसमा दाहाल प्रधानमन्त्री र लामिछाने उपप्रधान तथा गृहमन्त्रीका रूपमा एउटै मन्त्रिपरिषद्मा थिए। सरकार गठनका क्रममा दुई नेताबीच पटक–पटक छलफल भएको थियो।

त्यसै क्रममा लामिछानेले दाहाललाई प्रधानमन्त्रीको शपथका लागि दौरा–सुरुवाल लगाउन सुझाव दिएको र दाहाल त्यसमा सहमत भएको प्रसंगसमेत उनीहरूको राजनीतिक सम्बन्धको चर्चित घटनामध्ये एक हो।

लामिछानेको नागरिकता विवादका कारण उनको सांसद पद गुमेपछि रास्वपा तत्कालीन सरकारबाट बाहिरिएको थियो। त्यसपछि लामिछाने पुनः चुनाव जितेर संसद् फर्किए।

पछि सहकारी प्रकरणमा लामिछाने पक्राउ पर्दा पनि दाहालले उनको पक्षमा धारणा राख्दै आएका थिए। प्रधानमन्त्री रहेका बेला समेत उनले लामिछाने सहकारीको रकम अपचलनमा प्रत्यक्ष जोडिएको प्रमाण नरहेको दाबी गरेका थिए।

प्रमुख प्रतिपक्षी नेताको भूमिकामा रहँदा पनि दाहालले लामिछानेमाथिको कारबाहीलाई राजनीतिक प्रतिशोधका रूपमा चित्रित गरेका थिए। गत भदौमा लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका दाहालले त्यसबेला पनि सरकारको रवैयामाथि प्रश्न उठाएका थिए। यसरी हेर्दा दुई नेताबीचको सम्बन्ध सत्ता सहकार्य समाप्त भएपछि पनि निरन्तर कायम रहेको देखिन्छ।

पछिल्लो निर्वाचनमा रास्वपा ठूलो जनमतसहित सत्तामा पुगेको छ भने दाहाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी प्रतिपक्षमा रहेको छ। संख्यात्मक रूपमा सत्ता र प्रतिपक्षको भूमिकामा फरक भए पनि दाहालले सरकारका केही प्रमुख मुद्दामा सहयोगी भूमिका खेल्ने संकेत गर्दै आएका छन्।

निर्वाचनपछि रास्वपा ठूलो दल बनेलगत्तै दाहालले लामिछानेलाई फोन गरेर बधाई दिएका थिए। त्यसपछि पनि संविधानको रक्षा, सुशासन र राष्ट्रिय हितका विषयमा सरकारलाई सकारात्मक सहयोग गर्ने दाहालले बताउँदै आएका छन्।

दाहाल र लामिछानेबीच पछिल्लो पटक संसद् भवनमा सभामुखको कार्यकक्षमा करिब आधा घण्टा भेट भएको थियो। उक्त भेटमा उपसभामुख चयन तथा संसदीय समितिका सभापति चयनलगायत विषयमा छलफल भएको बताइएको थियो।

त्यतिबेला नेकपाले उपसभामुखमा दाबी गरे पनि रास्वपाले श्रम संस्कृति पार्टीलाई उक्त पदमा अघि सारेको थियो। संसदीय समितिमा समेत नेकपाले अपेक्षित प्रतिनिधित्व पाउन सकेन।

जेनजी आन्दोलनको राजनीतिक मूल्याङ्कन, त्यसपछिको सरकार गठन र निर्वाचनमा जाने विषयमा पनि दाहाल र लामिछानेका धारणा कतिपय अवस्थामा नजिक देखिएका थिए।

सुशीला कार्की नेतृत्वको सरकार गठन तथा निर्वाचनमा जाने विषयमा दुवै नेताबीच समान धारणा बनेको थियो। अहिले पनि राजनीतिक स्थायित्व र सुशासनका विषयमा दुई नेताबीच संवाद जारी रहेको दाहालका प्रमुख स्वकीय सचिव आचार्यले बताएका छन्।

रास्वपा नेता एवं सांसद दीपक बोहराले पनि दुई नेताबीच राजनीतिक रूपमा सौहार्दपूर्ण सम्बन्ध रहेको बताए। दुई नेताबीच राजनीतिक रूपमा सौहार्दपूर्ण सम्बन्ध छ,’ बोहराले भने, ‘पछिल्लो पटक सभामुखको निर्वाचन भएको दिन पनि दुई नेताबीच संसद् भवनमा कुराकानी भएको थियो।’

आचार्यका अनुसार दाहाल र लामिछानेबीचको संवाद कुनै औपचारिक राजनीतिक गठबन्धनको रूपमा नभई आवश्यकताअनुसार भइरहेको हो। ‘आवश्यकताका आधारमा कुराकानी हुने हो। रास्वपाले बहुमत ल्याएपछि नेकपा संयोजक प्रचण्डले बधाई दिनुभएको थियो,’ उनले भने।

यसले तत्काल सत्ता समीकरण परिवर्तन हुने संकेत नगरे पनि सरकार र प्रमुख प्रतिपक्षबीचको सम्बन्धमा दाहाल–लामिछाने व्यक्तिगत संवादले प्रभाव पार्न सक्ने देखिन्छ। विगतमा सहयात्री बनिसकेका दुई नेताबीच अहिलेको संवाद आगामी राजनीतिक मुद्दा, सरकारको कार्यसम्पादन र संविधान तथा सुशासनका विषयमा कति प्रभावकारी हुन्छ भन्ने चासो भने बढेको छ।