काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पूर्वसभापति शेरबहादुर देउवाको नाम र राजनीतिक व्यक्तित्वलाई प्रयोग गरेर पार्टीलाई कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाएका छन्।

पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै घिमिरेले देउवाको लामो राजनीतिक योगदानको सम्मान गर्नुपर्ने भए पनि उनको नाममा गुटगत गतिविधि सञ्चालन गरेर आफ्नो राजनीतिक अस्तित्व जोगाउने प्रयास उचित नभएको बताए।

ad

उपचारका लागि विदेशमा रहेका देउवाको स्वास्थ्यलाभको कामना गर्दै उनले अहिले देउवालाई केन्द्रमा राखेर भइरहेका भेला तथा गतिविधिप्रति असन्तुष्टि जनाए।

घिमिरेले विगतमा देउवाकै नेतृत्वमा पार्टी र सरकारमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका नेताहरूले अहिले आफ्नै राजनीतिक हैसियत र क्षमतामा कार्यक्रम गर्न नसकेर देउवाको नामलाई आधार बनाइरहेको टिप्पणी गरे।

‘तपाईंलाई गोटी बनाएर, तपाईंको काँधमा बन्दुक राखेर र तपाईंको चरम दुरुपयोग गरेर नेपाली कांग्रेसलाई भताभुङ्ग पार्ने प्रयत्न भइरहेको छ,’ उनले भने, ‘जब आफ्नो केही गर्ने सामर्थ्य र तागत छैन, तब शेरबहादुर दाइलाई मोहरा बनाएर के गर्न खोजिँदैछ ?’

महामन्त्री घिमिरेले लामो समयदेखि जारी केन्द्रीय कार्यसमिति बैठकले पनि नियमित महाधिवेशनको ठोस तयारी अघि बढाउन नसकेको भन्दै असन्तुष्टि जनाए।

उनका अनुसार ४८ दिनसम्म केन्द्रीय समिति बैठक चल्दा पनि महाधिवेशनको तयारीमा अपेक्षित प्रगति नहुनु दुःखद विषय हो। पार्टीको आन्तरिक विवादलाई लम्ब्याउनुभन्दा संगठन सुदृढीकरण र महाधिवेशनको तयारीमा ध्यान दिनुपर्ने उनले बताए।

घिमिरेले पार्टीभित्र भइरहेका गुटगत गतिविधिले कांग्रेसलाई बलियो बनाउने नभई थप कमजोर बनाउने दाबी गरे। देउवाको नाममा हुने भेलाभन्दा पार्टीको संगठन र आगामी राजनीतिक कार्यदिशाबारे बहस आवश्यक रहेको उनको भनाइ थियो।

कांग्रेसभित्रको विवाद र निर्वाचन आयोगसँग जोडिएको प्रक्रियाबारे पनि घिमिरेले आफ्नो धारणा राखेका छन्।

उनले आयोगले विवादमा रहेका दुवै पक्षसँग निरन्तर छलफल गरेको दाबी गर्दै ‘सुनुवाइको अवसर नदिएको’ आधारमा सर्वोच्च अदालतबाट पुनरावलोकनको अनुमति दिइएको विषय तथ्यसँग मेल नखाने बताए।

‘निर्वाचन आयोगले दुवै पक्षसँग लगातार छलफल गरेको अडियो र भिडियो रेकर्ड सुरक्षित छ। यस्तो अवस्थामा सुनुवाइको मौका नपाएको भन्ने आधारमा पुनरावलोकनको अनुमति दिनु कुनै पनि तथ्यसँग मेल खाँदैन,’ उनले बैठकमा भने।

यस विषयमा अदालतमा मुद्दा विचाराधीन रहेकाले पार्टीभित्रको विवादलाई कानुनी प्रक्रियाबाटै समाधान गर्नुपर्ने उनको संकेत थियो।

महामन्त्री घिमिरेले पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको समेत बचाउ गरेका छन्।

समसामयिक राजनीतिक तथा राष्ट्रिय विषयमा उनीहरूले पार्टीको धारणा स्पष्ट रूपमा सार्वजनिक गर्दै आएको उल्लेख गर्दै घिमिरेले नयाँ नेतृत्वले कांग्रेसलाई नयाँ ऊर्जा र दिशासहित अघि बढाउन खोजिरहेको बताए।

उनले कांग्रेसलाई आधारभूत तहदेखि नै पुनर्गठन र सुदृढीकरण गर्नुपर्ने आवश्यकता औँल्याए।

घिमिरेका अनुसार पार्टी अहिले नेतृत्व परिवर्तनको प्रक्रियासँगै नयाँ राजनीतिक ऊर्जा निर्माण गर्ने चरणमा छ। त्यसका लागि पुराना गुटगत समीकरणमा अल्झिनुभन्दा संगठन निर्माण, विचार र जनतासँगको सम्बन्धलाई प्राथमिकता दिनुपर्ने उनको धारणा छ।

घिमिरेले देउवाको राजनीतिक योगदानलाई अस्वीकार गर्ने पक्षमा आफू नरहेको स्पष्ट पारे। तर उनको नामलाई राजनीतिक गुटबन्दीको आधार बनाउने प्रवृत्ति भने कांग्रेसको हितमा नरहेको उनको भनाइ छ।

कांग्रेसलाई नयाँ पुस्ताको ऊर्जा र नयाँ राजनीतिक सन्देशसहित अघि बढाउनुपर्ने बताउँदै उनले पार्टीभित्रको शक्ति संघर्षभन्दा संगठन निर्माणलाई प्राथमिकता दिन आग्रह गरे।

उनको भनाइअनुसार अहिलेको मुख्य चुनौती देउवाको नाममा गुट निर्माण गर्नु नभई कांग्रेसलाई आगामी राजनीतिक प्रतिस्पर्धाका लागि सक्षम र संगठित बनाउनु हो।