
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारले जनअपेक्षाअनुसार परिणाम दिन नसके फेरि ‘भदौ २३’ जस्तो राजनीतिक परिस्थिति दोहोरिन सक्ने चेतावनी दिएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित रास्वपाको कार्यक्रममा बोल्दै लामिछानेले युवाले पाएको राजनीतिक अवसरलाई सफलतामा बदल्न नसके त्यसको असर वर्तमान पुस्तामा मात्रै नभई आगामी पुस्ताको राजनीतिक भविष्यमा समेत पर्ने बताए।
गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गर्ने अवस्था सिर्जना गरेको स्मरण गर्दै उनले राजनीतिक शक्ति स्थायी नहुने धारणा राखे।
‘गत वर्षको भदौ २१, २२ गते त ठिकै थियो, सरकार पनि दुईतिहाइको थियो। शक्तिशाली दुई पार्टी सरकारमा थिए, कसले छुन सक्थ्यो र? २३ आइपुग्यो नि ओभरनाइट,’ लामिछानेले भने, ‘हामीले गलत भाष्यलाई हाम्रो कामबाट चिर्न सकेनौँ भने हेर्दाहेर्दै त्यस्तै डिलमा जान्छ, फेरि भदौ २३ आउन सक्छ।’
उनको यो भनाइ वर्तमान सरकारप्रति लक्षित देखिन्छ। अहिले रास्वपा सत्ताको प्रमुख शक्तिका रूपमा रहेको र बालेन्द्र शाह नेतृत्वको सरकारमाथि परिणाममुखी काम गर्नुपर्ने दबाब बढिरहेका बेला लामिछानेले आफ्नै दलका मन्त्री तथा सांसदलाई समेत जिम्मेवारीप्रति गम्भीर हुन आग्रह गरेका हुन्।
लामिछानेले अहिलेको राजनीतिक अवसरलाई युवाको व्यक्तिगत उपलब्धि वा प्रशंसाको विषय मात्र बनाउन नहुने बताए। युवा नेतृत्व सफल भए मात्र राजनीतिमा नयाँ पुस्ताको प्रवेशका लागि बाटो खुल्ने उनको भनाइ छ।
उनका अनुसार अहिलेको पुस्ताले जिम्मेवारी पूरा गर्न नसके केही वर्षमै ‘युवाबाट राजनीति सम्भव हुँदैन’ भन्ने धारणा स्थापित हुन सक्छ।
‘यदि कुनै पनि कारणले हामीले हाम्रो जिम्मेवारी पूरा गर्न सकेनौँ भने तुरुन्तै, सम्भवतः केही वर्षभित्रै एउटा भाष्य बन्नेछ कि युवाबाट रहर गरेर नहुने रहेछ, अनुभव नभएका मान्छेहरूबाट राजनीति सम्भव नहुने रहेछ,’ उनले भने।
त्यस्तो धारणा स्थापित भए परिवर्तनका लागि राजनीतिमा आएका युवाहरू नै त्यसको सबैभन्दा ठूलो सिकार बन्ने उनले बताए।
‘यसपटक छुटियो भने, बिग्रियो भने, गलत भयो भने वा हाम्रो सुझबुझ पुगेन भने फेरि अर्को पटक भोलिका पुस्ताका युवाले हामीले जस्तो अवसर प्राप्त गर्ने छैनन्,’ लामिछानेले भने।
उनले युवा सांसद र मन्त्रीहरूलाई पदको उत्सवमा रमाउनेभन्दा जिम्मेवारीको गम्भीरता बुझेर काम गर्न आग्रह गरे। ‘यो रमाउने बेला होइन, जिम्मेवार भएर सोच्ने बेला हो,’ उनले भने।
लामिछानेले रास्वपाको संगठनात्मक संरचना पार्टीको आधार बलियो बन्नुअघि नै अपेक्षाभन्दा ठूलो भएको स्वीकार गरेका छन्।
परिवर्तनको चाहना र वैकल्पिक राजनीतिक शक्तिको खोजीका कारण जनताले रास्वपालाई छिट्टै विश्वास गरेका कारण पार्टीको आकार तीव्र रूपमा विस्तार भएको उनको भनाइ छ।
‘जग बलियो नबनाइकन हामीले स्ट्रक्चर बलियो बनाएर हुँदैन। रास्वपाको बलियो स्ट्रक्चरभन्दा पहिले धेरै तल्लाको पार्टी बनेको हो, मैले आज यहाँ स्वीकार्नै पर्छ,’ लामिछानेले भने।
जनताको आशा र भरोसाका कारण पार्टी आफ्नो संगठनात्मक क्षमताले धान्न सक्नेभन्दा ठूलो बनेको हुन सक्ने उनले बताए।
‘परिवर्तन एकदमै जरुरी भएको थियो र विकल्पका रूपमा हामीलाई जनताले आशा र भरोसाका रूपमा हेरेका थिए। त्यसकारण हाम्रो जगले धान्नुभन्दा ठूलो आकारको पार्टी बन्यो कि भनेर म कहिलेकाहीँ सोच्न बाध्य हुन्छु,’ उनले भने।
अब पार्टीको संरचनालाई बलियो र टिकाउ बनाउन संगठनको जग मजबुत पार्नुपर्ने उनको भनाइ छ।
लामिछानेले रास्वपा अब वैकल्पिक शक्ति भएकोमा मात्रै सन्तुष्ट हुन नहुने बताए। पार्टीले आफूलाई देशको ‘निर्विकल्प शक्ति’का रूपमा स्थापित गर्नुपर्ने उनको भनाइ थियो।
आफूहरू पुराना शक्तिको विकल्प खोज्न मात्रै राजनीतिमा नआएको बताउँदै उनले जनताले फेरि अर्को विकल्प खोज्ने अवस्था आउन नदिन रास्वपाले आफ्ना कामबाट आफूलाई प्रमाणित गर्नुपर्ने बताए।
उनले पार्टी र सरकारको अहिलेको अवस्थालाई ‘परीक्षाको घडी’का रूपमा व्याख्या गरे।
‘हामी एकदमै तगडा भयौँ भन्ने अहिले हामीले सोच्ने बेला भएको छैन। हामी फ्रेस मात्र हौँ। तगडा हुन हामी बाँकी छ,’ उनले भने।
रास्वपा सभापतिले युवाको नेतृत्व स्थापित भएकोमा मात्रै गर्व गर्ने अवस्था नरहेको बताए। नेतृत्वले जनताले अनुभूति गर्ने गरी परिणाम दिनुपर्ने उनको जोड थियो।
उनका अनुसार उमेर र अनुभवलाई मात्र राजनीतिक नेतृत्वको मापदण्ड बनाउने भाष्य स्थापित भए त्यसले भविष्यमा राजनीतिमा आउन चाहने युवालाई निरुत्साहित गर्नेछ।
त्यसैले युवाले आफ्नो क्षमता भाषण वा नाराबाट नभई कामबाट प्रमाणित गर्नुपर्ने लामिछानेले बताए।
उनले अहिले प्राप्त राजनीतिक अवसरलाई जोगाउने जिम्मेवारी रास्वपाका नेता–कार्यकर्तामाथि रहेको उल्लेख गर्दै इमानदार, जिम्मेवार र सुझबुझपूर्ण ढंगले काम गर्नुपर्नेमा जोड दिए।









Facebook Comments