
काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद र गुटगत राजनीति अन्त्य गर्दै पार्टीलाई एकताबद्ध बनाउन दबाब दिने उद्देश्यले ‘देश र कांग्रेस जोड्ने अभियान’ ले राजधानीमा बुद्धिजीवी तथा नागरिक अगुवाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। विगत दुई महिनादेखि निरन्तर संवाद र विमर्श गर्दै आएको यस अभियानले अब देशव्यापी रूपमा हस्ताक्षर अभियान सञ्चालन गर्ने घोषणा गरेको छ।
राजधानीमा आयोजित कार्यक्रममा बोल्दै कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य एवं अभियानका अगुवा नैनसिंह महरले देश संकटमा परेको वर्तमान बेलामा कांग्रेसभित्रको एकता झन् अपरिहार्य भएको बताए। नेता महरले गाउँका साधारण जनतादेखि भुइँतहका कांग्रेस कार्यकर्तासम्मको एउटै मात्र चाहना पार्टी बलियो र एकताबद्ध भएको हुनुपर्ने रहेको बताए। पार्टीभित्र विचारको बहस र नेतृत्वका लागि प्रतिस्पर्धा हुनु स्वाभाविक भए पनि पार्टी नै कमजोर हुने गरी हुने विभाजन कुनै पनि हालतमा स्वीकार्य नहुने उनको भनाइ थियो।
उनले भने, "कांग्रेस एकताको कुरा गर्ने हो भने सबैभन्दा पहिले नेताहरू त्यागका लागि तयार हुनुपर्छ। कसैले एक कदम पछाडि हट्नुपर्छ, कसैले आफ्नो अडानमा पुनर्विचार गर्नुपर्छ। तर, कांग्रेसलाई फुटबाट जोगाउनैपर्छ।"
पार्टीभित्रको आन्तरिक विवाद अब नेताहरूको मात्र व्यक्तिगत विषय नरही यसले संगठन, कार्यकर्ता र आम नागरिकको मनोविज्ञानमा समेत गहिरो असर पारेको उनले औंल्याए। कांग्रेस बलियो हुनु भनेको देश र लोकतन्त्र बलियो हुनु
राष्ट्रिय सभाका सांसदसमेत रहेका अभियानका अर्का नेता रञ्जित कर्णका अनुसार कांग्रेसभित्र एकताको पक्षमा ठोस जनमत निर्माण गर्नका लागि अब देशव्यापी हस्ताक्षर संकलन कार्यक्रम अघि बढाइनेछ।
अभियानका अगुवाहरूले यो हस्ताक्षर अभियानलाई केवल कागजमा सीमित समर्थन मात्र नभई ‘कांग्रेस एकताबद्ध हुनुपर्छ’ भन्ने आम कार्यकर्ता, शुभेच्छुक र नागरिक समाजको सामूहिक र शक्तिशाली आवाजका रूपमा अघि बढाइने स्पष्ट पारेका छन्।
आगामी दिनमा देशका विभिन्न ठाउँमा पुगेर पार्टीका नेता, कार्यकर्ता र बुद्धिजीवीहरूसँगको संवादलाई अझ व्यापक बनाउने र कांग्रेसलाई पुनः गाउँ र आम नागरिकको भावनासँग जोड्ने योजना रहेको अभियानले जनाएको छ।









Facebook Comments