
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा राष्ट्रिय भेला आयोजक समिति संयोजक शशांक कोइरालाले पार्टीका सबै सांगठनिक तथा नीतिगत निर्णय तत्काल रोक्न माग गरेका छन्।
कांग्रेसको वैधानिकता र नेतृत्वसम्बन्धी विवाद सर्वोच्च अदालतमा पुनः विचाराधीन रहेको भन्दै कोइरालाले अदालतबाट अन्तिम फैसला नआएसम्म पार्टीले दूरगामी प्रभाव पार्ने निर्णय नगर्न आग्रह गरेका हुन्।
यससम्बन्धी ध्यानाकर्षणसहित उनले कांग्रेस केन्द्रीय कार्यसमितिलाई पत्र पठाएका छन्। पत्रमा सर्वोच्च अदालतको पूर्ण इजलासले साउन २२ गते यसअघि भएको फैसलाविरुद्ध दायर पुनरवलोकन निवेदनमा निस्सा प्रदान गरेको उल्लेख छ।
सर्वोच्चले पुनरवलोकनका लागि निस्सा दिएसँगै कांग्रेसको वैधानिकता तथा तत्कालीन नेतृत्वको कानुनी हैसियतसँग जोडिएको विषय फेरि न्यायिक परीक्षणको प्रक्रियामा गएको कोइरालाको भनाइ छ।
त्यसैले मुद्दाको अन्तिम टुंगो नलाग्दै पार्टीका सांगठनिक गतिविधि र निर्णय अघि बढाउँदा थप कानुनी जटिलता उत्पन्न हुन सक्ने उनले पत्रमार्फत औँल्याएका छन्।
कोइरालाले कांग्रेसको १५औँ महाधिवेशन वा विशेष महाधिवेशनसँग सम्बन्धित सबै सांगठनिक, प्राविधिक तथा नीतिगत कार्यतालिका तत्काल स्थगित गर्न माग गरेका छन्।
अदालतको अन्तिम फैसला नआएसम्म पार्टीका सांगठनिक संरचनालाई साविककै अवस्थामा कायम राख्नुपर्ने उनको आग्रह छ। न्यायिक प्रक्रियाको सम्मान गर्दै अदालतमा विचाराधीन मुद्दाको परिणामलाई प्रभावित पार्ने कुनै पनि गतिविधि नगर्न उनले पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन्।
अदालतको निर्णयअघि पार्टीका गतिविधि अघि बढाए त्यसले अदालतको अवहेलना वा अन्य कानुनी जटिलता निम्त्याउन सक्ने चेतावनीसमेत कोइरालाले दिएका छन्।
उनको पत्रको बोधार्थ कांग्रेस सभापति गगनकुमार थापासहित प्रदेश, जिल्ला, क्षेत्रीय र पालिका तहका पार्टी संरचना तथा निर्वाचन आयोगलाई पठाइएको छ। पत्रमा थापालाई ‘तत्कालीन महामन्त्री’ भनेर सम्बोधन गरिएको छ।
यसैबीच कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक केही दिनदेखि जारी छ। सभापति थापाले असोज १६ गतेदेखि १५औँ महाधिवेशन गर्ने तयारी भइरहेको र तल्लो तहका अधिवेशनको कार्यतालिकामा केन्द्रीय समितिबाट आवश्यक हेरफेर हुन सक्ने बताएका छन्।
कांग्रेसको संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय भेला भने साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा हुँदैछ।









Facebook Comments