काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेताहरूले पार्टीभित्र देखिएको असमझदारी अन्त्य गर्दै संगठनलाई एकताबद्ध बनाउन पहल भइरहेको बताएका छन्।

कांग्रेस सिन्धु–काठमाडौँ सम्पर्क समितिले सोमबार राजधानीमा आयोजना गरेको युवा भेलामा सहभागी नेताहरूले पार्टीका सबै पक्षलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिएका हुन्।

ad

कांग्रेस नेता डा. शशांक कोइरालाले राजनीतिक असहमतिका क्रममा एकअर्काप्रति आरोप–प्रत्यारोप र गालीगलौज गर्नुभन्दा मौनता र उपेक्षा प्रभावकारी जवाफ हुन सक्ने बताए। पार्टीभित्र सबैलाई समेटेर एकता कायम गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको उनको भनाइ थियो।

उनले कांग्रेसको संघर्षपूर्ण इतिहास र योगदानलाई स्मरण गर्दै पार्टी निरन्तर सुधारिँदै जाने विश्वास व्यक्त गरे। देशको भविष्य सुरक्षित गर्ने जिम्मेवारी कांग्रेसकै काँधमा रहेको दाबी गर्दै उनले पार्टीलाई बलियो बनाउन सबैको सहयोग आवश्यक रहेको बताए।

कांग्रेस नेता प्रकाशमान सिंहले पार्टीभित्रको विवाद समाधानका लागि १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र विशेष महाधिवेशनबाट आएको समितिलाई एउटै ठाउँमा ल्याउनुपर्ने धारणा राखे। तीनदिने राष्ट्रिय भेला कुनै व्यक्तिको पद वा स्वार्थका लागि नभई पार्टीको आन्तरिक सुदृढीकरण र एकताका लागि आयोजना गरिएको उनको भनाइ थियो।

अर्का नेता कृष्ण सिटौलाले सर्वोच्च अदालतको फैसलाले कांग्रेसभित्र एकताको बाटो खुला गरेको बताए। अब संयम र धैर्यका साथ देशभर पुगेर पार्टीका नेता तथा कार्यकर्ताबीच सकारात्मक संवाद अघि बढाउने उनले बताए।

कांग्रेसका नेता तथा कार्यकर्ता व्यक्तिगत स्वार्थका लागि नभई देश र जनताको सेवाका लागि राजनीतिमा संगठित भएको उल्लेख गर्दै सिटौलाले विशेष महाधिवेशनबाट आएको नेतृत्वले भने अधिनायकवादी शैली अपनाएको आरोप लगाए।

कांग्रेस नेता मोहन बस्नेतले पार्टी विभाजनका लागि नभई संगठनलाई अझ ठूलो, सशक्त र ऊर्जाशील बनाउने उद्देश्यले अभियान सञ्चालन भइरहेको बताए। मुलुकको भविष्यको नेतृत्व गर्न सक्ने बलियो कांग्रेस निर्माण गर्नु अहिलेको लक्ष्य रहेको उनको भनाइ थियो।

बस्नेतले साउन २८ गतेसम्म सभापति गगन थापाले राजनीतिक निकास नदिए साउन २९ गतेदेखि पार्टीले नयाँ कार्यदिशाका साथ अघि बढ्न सक्ने चेतावनीसमेत दिए।