काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’भन्दा बढी राजनीतिक परिपक्वता रहेको दाबी गरेका छन्।

सोमबार पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले लामिछानेसँग आफ्नो नियमित संवाद हुने गरेको र विगतमा उनी आफ्नो नेतृत्वको सरकारमा मन्त्रीसमेत रहेकाले उनलाई नजिकबाट बुझ्ने अवसर पाएको बताए।

ad

लामिछाने अप्ठ्यारोमा परेका बेला आफूले संसद् र संसद् बाहिरसमेत उनको पक्षमा आवाज उठाएको स्मरण गर्दै प्रचण्डले त्यसको राजनीतिक हिसाबले रविले आफ्नो ‘गुन तिर्न बाँकी’ रहेको टिप्पणी गरे।

प्रचण्डले वर्तमान सरकारको कार्यशैलीप्रति पनि असन्तुष्टि व्यक्त गरे। उनले सरकारलाई ‘कम्पास हराएको जहाज’को संज्ञा दिँदै नेतृत्वमा राजनीतिक परिपक्वताको अभाव देखिएको आरोप लगाए।

उनका अनुसार सरकार लामो समय टिक्ने अवस्थामा छैन। रास्वपाभित्रै आन्तरिक अन्तरविरोध देखिन थालेको दाबी गर्दै प्रचण्डले वर्तमान सरकार दशैँसम्म पनि नपुग्ने चर्चा राजनीतिक वृत्तमा सुरु भइसकेको बताए।

उनले सरकारको राजनीतिक दिशा स्पष्ट नभएको र पछिल्लो अवस्थाले सरकारको स्थायित्वमाथि प्रश्न उठाएको जिकिर गरे।