काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलसँग विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा वरिष्ठ पत्रकारले सरकारी सूचना समयमै, पारदर्शी र सहज रूपमा उपलब्ध गराउने व्यवस्था प्रभावकारी बनाउन आग्रह गरेका छन्।

शिक्षा तथा खेलकुद मन्त्रालयमा सोमबार भएको छलफलमा सहभागी सम्पादकहरूले प्रधानमन्त्री तथा विभिन्न मन्त्रालयका गतिविधि, सरकारी निर्णय र नीतिगत विषयमा सञ्चारमाध्यमको पहुँच सहज हुनुपर्ने बताएका हुन्।

ad

उनीहरूले सरकारको सूचना प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने तथा महत्वपूर्ण नीतिगत निर्णय लिनुअघि सम्बन्धित क्षेत्रका सरोकारवालासँग पर्याप्त छलफल गर्नुपर्ने सुझाव दिएका छन्।

छलफलमा शिक्षा क्षेत्रको सुधारलाई पनि प्राथमिकताका साथ उठाइएको थियो। सहभागी पत्रकारहरूले विद्यालयदेखि उच्च शिक्षासम्मको प्रणालीलाई व्यावहारिक, वैज्ञानिक र जनमुखी बनाउन दीर्घकालीन नीतिगत सुधार आवश्यक रहेको बताएका थिए। विद्यालय तहको पाठ्यक्रममा समेत व्यापक परिवर्तन गर्नुपर्ने उनीहरूको सुझाव थियो।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेलले सरकारी सूचना प्रवाहलाई सरल, व्यवस्थित र प्रभावकारी बनाउने दिशामा मन्त्रालयले काम गरिरहेको बताए। लोकतान्त्रिक प्रक्रियाबाट गठन भएको वर्तमान सरकार लोकतान्त्रिक मूल्य र मान्यताप्रति प्रतिबद्ध रहेको उनको भनाइ थियो।

“वर्तमान सरकार एक्सनबाट होइन, प्रजातान्त्रिक प्रक्रियाबाट जनमत लिएर आएको हो। त्यसैले सरकारको लोकतन्त्रप्रतिको प्रतिबद्धता रहन्छ,” मन्त्री पोखरेलले भने, “जनताको आशा र भरोसालाई साकार पार्न अहोरात्र खटिएका छौँ।”

सरकारले जनताका दैनिक आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर सुशासन तथा पारदर्शितालाई प्राथमिकता दिएको उनले बताए। विश्वविद्यालयका पदाधिकारी नियुक्ति निष्पक्ष र पारदर्शी ढंगले गरिएको दाबी गर्दै पोखरेलले विश्वविद्यालयलाई थप स्वायत्त बनाउने र शैक्षिक गुणस्तर सुधार्ने गरी नीतिगत काम अघि बढाइएको जानकारी दिए।

छलफलमा देश सञ्चार डटकमका सम्पादक तथा वरिष्ठ पत्रकार युवराज घिमिरेले सरकारी सूचना सञ्चारमाध्यमलाई समयमै र पारदर्शी ढंगले उपलब्ध गराउनुपर्ने बताए।

हिमालय टेलिभिजन तथा अनलाइन खबर समूहका सम्पादक उमेश चौहानले जनमत र जनविश्वास प्राप्त सरकारले जनआकांक्षाअनुसार काम गर्दै शिक्षा क्षेत्रमा देखिएका बेथितिलाई नीतिगत रूपमै सम्बोधन गर्नुपर्ने धारणा राखे।

सेतोपाटी डटकमका सम्पादक सुदीप श्रेष्ठले सरकारका काम तथा सुधारका प्रयासबारे नागरिकले सहज रूपमा सूचना पाउने वातावरण बनाउनुपर्ने बताए। अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेतले सरकार र सञ्चारमाध्यमबीच नियमित संवादले सूचना प्रवाह सहज बनाउनुका साथै आपसी दूरी घटाउने बताए।

कान्तिपुर दैनिकका प्रधानसम्पादक गोकर्ण अवस्थीले सरकारी सूचना सहज रूपमा उपलब्ध हुन नसक्दा गलत सूचना तथा भ्रामक सूचनाको जोखिम बढ्ने बताए।

शिलापत्र डटकमका सम्पादक योगेश ढकालले विश्वविद्यालयप्रतिको नागरिक विश्वास बलियो बनाउन आवश्यक नीतिगत सुधार गर्नुपर्ने बताए। पत्रकार बिनु सुवेदीले सरकार र सञ्चारमाध्यमबीचको सम्बन्धलाई थप सौहार्दपूर्ण बनाउँदै सूचना प्रवाह तथा जनस्तरसँगको सम्बन्ध मजबुत बनाउनुपर्ने धारणा राखिन्। उनले विद्यालय तहको पाठ्यक्रममा व्यापक सुधार आवश्यक रहेको बताइन्।

द काठमाडौँ पोस्टका समाचार सम्पादक विनोद घिमिरेले सरकारी सूचना उपलब्ध गराउने प्रणालीलाई थप सरल र सहज बनाउनुपर्नेमा जोड दिए।छलफलको सहजीकरण शिक्षामन्त्रीका सल्लाहकार सरोज गौतमले गरेका थिए।