
काठमाडौँ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीको आगामी १५औँ महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र विवादरहित बनाउन विशेष कार्यसम्पादन संयन्त्र गठन गर्नुपर्ने बताएका छन्।
काठमाडौँमा बुधबार आयोजित ‘देश र कांग्रेस जोड्ने अभियान : एकता र सद्भाव विमर्श’ कार्यक्रममा बोल्दै महरले महाधिवेशनमा पार्टीका सबै पक्षको सहभागिता सुनिश्चित हुने वातावरण बनाउनुपर्नेमा जोड दिए।
उनले महाधिवेशनको प्रक्रियामा कुनै पक्षलाई निषेध गरिएको वा कसैलाई पार्टीबाट निष्कासन गरिएको जस्ता विवाद सिर्जना हुन नदिन आवश्यक संयन्त्रमार्फत काम गर्नुपर्ने धारणा राखे। विगतमा विशेष महाधिवेशनका लागि ४० प्रतिशत हस्ताक्षर संकलन भए पनि प्रक्रिया अघि बढ्न नसकेको स्मरण गर्दै उनले निर्वाचन आयोग र अदालतका निर्णयपछि अब निर्धारित महाधिवेशनको तयारीमा केन्द्रित हुनुपर्ने बताए।
महरले सदस्यता छनोट, निर्वाचन तथा अनुशासनजस्ता महत्वपूर्ण समितिमा पार्टीका सबै पक्षको न्यायोचित सहभागिता सुनिश्चित गर्नुपर्ने बताए। त्यस्ता समितिका निर्णय सकेसम्म सर्वसम्मत ढंगले हुनुपर्ने उनको भनाइ थियो।
महाधिवेशनलाई व्यवस्थित र पारदर्शी बनाउन सभापतिको नेतृत्वमा १५ सदस्यीय विशेष संयन्त्र गठन गर्न सकिने विकल्पसमेत उनले अघि सारे। प्रस्तावित संयन्त्रमा सभापति पक्षको बहुमत रहने तथा निवर्तमान पदाधिकारीलाई समेत समेटेर महाधिवेशन केन्द्रित जिम्मेवारी दिन सकिने उनको धारणा थियो।
पार्टीभित्र एकता र मिलानका लागि भइरहेका प्रयासप्रति आफ्नो पूर्ण समर्थन रहेको बताउँदै महरले पछिल्ला तीन महिनादेखि भइरहेका एकताका पहलहरूबारे आफू जानकार रहेको उल्लेख गरे।
महाधिवेशनको प्रक्रिया आगामी केही महिनाभित्र सुरु हुने भएकाले आन्तरिक विवादमा समय खर्चिनुभन्दा पार्टीलाई एकताबद्ध र बलियो बनाउन सबै पक्ष केन्द्रित हुनुपर्नेमा उनले जोड दिए।









Facebook Comments