काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार नेपालका दुई ठूला छिमेकी भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । सिंहदरबारमा एउटै दिन भारतीय र चिनियाँ राजदूतसँग भएको भेटलाई नेपालले आफ्ना दुवै छिमेकीसँगको सम्बन्धलाई समान प्राथमिकतामा राख्न खोजेको कूटनीतिक संकेतका रूपमा हेरिएको छ ।

प्रधानमन्त्री शाहले साेमबार अपराह्न भारतीय राजदूत नवीन श्रीवास्तवसँग करिब ४० मिनेट भेटवार्ता गरेका थिए । त्यसलगत्तै उनले नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङसँग पनि भेट गरे ।

ad

भारतीय राजदूतसँगको भेटमा दुई देशबीचको सम्बन्ध तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ । भेटका विस्तृत विषय भने सार्वजनिक गरिएको छैन ।

चिनियाँ राजदूतसँगको भेटमा भने नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउने, विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने तथा विकास साझेदारीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्री शाहले नेपाल र चीनबीच लामो समयदेखि कायम ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका थिए । चिनियाँ राजदूत माओमिङले प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै दुई देशबीचको सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउन चीन प्रतिबद्ध रहेको बताएका थिए ।

नेपालका लागि भारत र चीन दुवै रणनीतिक महत्त्वका छिमेकी हुन् । दुवै मुलुकसँगको सम्बन्धलाई सन्तुलित राख्नु नेपालको परराष्ट्र नीतिको महत्त्वपूर्ण पक्ष रहँदै आएको छ ।

प्रधानमन्त्री बनेपछि शाहले पहिलोपटक दुवै छिमेकी मुलुकका राजदूतसँग यसरी पालैपालो भेट गरेको घटनाले उनको सरकारको प्रारम्भिक कूटनीतिक प्राथमिकताबारे चासो बढाएको छ ।

यद्यपि, प्रधानमन्त्रीको सचिवालयले दुवै भेटलाई शिष्टाचार भेटका रूपमा प्रस्तुत गरेको छ । भारतसँगको भेटमा समसामयिक राजनीतिक विषय र चीनसँगको भेटमा विकास साझेदारी तथा सहकार्य विस्तारबारे छलफल भएको जानकारी दिइएको छ ।

नेपालमा नयाँ सरकार गठन वा नेतृत्व परिवर्तनसँगै छिमेकी मुलुकसँगको सम्बन्ध र सरकारको कूटनीतिक प्राथमिकताबारे चासो बढ्ने गरेको छ । यस्तो अवस्थामा प्रधानमन्त्री शाहले एउटै दिन भारत र चीनका राजदूतलाई भेट्नुले दुवै मुलुकसँग समान रूपमा संवाद अघि बढाउने सन्देश दिन खोजेको अर्थमा समेत बुझ्न सकिन्छ ।

विशेषगरी विकास, पूर्वाधार, व्यापार, पारवहन तथा लगानीका विषयमा भारत र चीन दुवै नेपालका महत्त्वपूर्ण साझेदार हुन् । त्यसैले प्रधानमन्त्री शाहका लागि दुवै छिमेकीसँग विश्वासको सम्बन्ध कायम गर्दै राष्ट्रिय हितका आधारमा सहकार्य अघि बढाउनु चुनौतीपूर्ण र महत्त्वपूर्ण दुवै हुनेछ ।

सोमबारका भेटमा कुनै ठोस सम्झौता वा नयाँ कूटनीतिक निर्णय घोषणा नभए पनि प्रधानमन्त्री शाहले दुवै छिमेकीका प्रतिनिधिसँग संवादलाई प्राथमिकता दिएको सन्देश भने गएको छ । 

अब आगामी दिनमा सरकारको व्यवहारिक कूटनीति र भारत तथा चीनसँग अघि बढाइने सहकार्यले सोमबारका यी भेटको वास्तविक अर्थ थप स्पष्ट पार्नेछ ।