
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारसँग प्रश्न र खबरदारी गरेकै कारण आफू र आफ्नो परिवारलाई लक्षित गरी साइबर बुलिङ तथा चरित्र हत्या गरिएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै शाहीले सामाजिक सञ्जालमा आफूलाई मदिरा सेवन गरेको तथा अश्लील भिडियोसँग जोडेर गलत सूचना फैलाइएको दाबी गरे । आफ्नो नाम जोडेर अश्लील भिडियो प्रसार गरिएको भन्दै उनले घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरे ।
शाहीका अनुसार कर्णालीका जनताको समस्या र पीडाबारे सरकारसँग प्रश्न उठाएपछि आफूविरुद्ध व्यक्तिगत आक्रमण सुरु भएको हो । उनले आफू कर्णालीका जनताको प्रतिनिधिका रूपमा उनीहरूको समस्या संसद्मा उठाउन बाध्य रहेको बताए ।
‘कर्णालीका मानिस मर्दा र कर्णालीका जनताले पीडा भोग्दा यो मेरो सरकार हो कि तेरो सरकार हो भनेर म हेर्दिनँ । म कर्णालीका पीडित जनताको आवाज उठाउँछु,’ शाहीले भने ।
उनले सामाजिक सञ्जालको दुरुपयोगमार्फत हुने चरित्र हत्या र गलत सूचना प्रसारको समस्या आफूमा मात्र सीमित नरहेको बताए । कलाकार, खेलाडी, पत्रकार तथा व्यवसायीसमेत यस्ता गतिविधिको सिकार हुने गरेको उल्लेख गर्दै उनले दोषीमाथि कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।
‘हामी केपी ओलीका कार्यकर्ता होइनौँ’
शाहीले प्रतिपक्षले सरकारसँग प्रश्न गर्नेबित्तिकै आफूहरूलाई ‘केपी ओलीका कार्यकर्ता’को आरोप लगाउने र ‘सरकारलाई काम गर्न दिएन’ भन्ने प्रतिक्रिया आउने गरेको भन्दै आपत्ति जनाए ।
उनले आफूहरू जनताले प्रश्न गर्न र सरकारलाई खबरदारी गर्न निर्वाचित गरेको जनप्रतिनिधि भएको बताए ।
‘प्रतिपक्ष हामी विरोधी होइनौँ, तपाईंको सहयात्री हो,’ उनले भने ।
जापानमा रहँदा आफूले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिलाई लिएर समेत आफू र आफ्नो परिवारको चरित्र हत्या गर्ने प्रयास भएको शाहीको आरोप छ । उक्त अभिव्यक्ति संवैधानिक तथा मानव अधिकारसम्बन्धी आयोगका प्रतिवेदनलाई आधार बनाएर दिएको दाबी गर्दै उनले आफूले अप्रमाणित विषय नउठाएको जिकिर गरे ।
शाहीले यसअघि पनि आफूले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा संसद्मा बसेर सरकारमाथि निरन्तर प्रश्न उठाएको स्मरण गराए । सडकमा रहँदा समेत तत्कालीन नेकपा सरकारको आलोचना गरेका कारण आफू पटक–पटक आक्रमणमा परेको उनको भनाइ थियो ।
उनले प्रतिपक्षको दायित्व नै सरकारका कामकारबाहीमाथि प्रश्न उठाउने र जनताका समस्या संसद्मा प्रस्तुत गर्ने भएकाले त्यसलाई सरकारविरुद्धको गतिविधिका रूपमा नबुझ्न आग्रह गरे ।
सरकार ढाल्ने पक्षमा नरहेको दाबी
शाहीले आफूहरू वर्तमान सरकार ढाल्ने खेलमा नरहेको पनि स्पष्ट पारे । अहिलेको संसदीय अंकगणितमा प्रतिपक्षले सरकार ढालेर अर्को सरकार गठन गर्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै उनले जनताले निर्वाचित गरेको सरकारले आफ्नो कार्यकाल पूरा गर्नुपर्ने बताए ।
सरकार पाँच वर्ष टिकेर काम गरोस् र प्रतिपक्षका आवाज तथा प्रश्नलाई समेत सरकारले गम्भीरतापूर्वक सुन्नुपर्ने आफूहरूको चाहना रहेको उनले बताए ।









Facebook Comments