
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सात प्रदेशका सभापतिमध्ये पाँच जना सहभागी भएका छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशका सभापति भने बैठकमा उपस्थित भएनन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आइतबारदेखि सुरु भएको बैठकमा प्रदेश सभापतिहरूलाई आमन्त्रित सदस्यका रूपमा सहभागी गराइएको हो । बैठकमा कोशी प्रदेशका सभापति उद्धव थापा, मधेशका कृष्ण यादव, बागमतीका इन्द्र बानियाँ, गण्डकीका शुक्रराज शर्मा र लुम्बिनीका अमरसिंह पुन सहभागी छन् ।
कर्णाली प्रदेशका सभापति ललितजंग शाही र सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायर भने बैठकमा सहभागी नभएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
आइतबारदेखि सुरु भएको बैठकमा सोमबारबाट केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्न थालेका छन् । बैठकका लागि पार्टीका सांगठनिक तथा समसामयिक विषय समेटेर विभिन्न एजेण्डा तय गरिएको छ ।
बैठकमा कांग्रेसको १५औँ महाधिवेशनको तयारी, नियमावली तथा निर्वाचन निर्देशिका, सदस्यता अद्यावधिक र वितरण, महाधिवेशन तयारी समिति गठन तथा विधान मस्यौदा समिति गठनलगायतका विषयमा छलफल हुँदैछ ।
त्यस्तै, प्रचारप्रसार, भोजन तथा आवास, मञ्च व्यवस्थापनलगायतका उपसमिति गठन, कार्यसम्पादन समितिका निर्णय अनुमोदन र सदस्यता व्यवस्थापनसम्बन्धी केन्द्रीय समितिका निर्णय अनुमोदन पनि छलफलका एजेण्डामा छन् । जनसम्पर्क समिति तथा भ्रातृ संस्थाहरूको विधानका विषयमा समेत बैठकमा छलफल हुनेछ ।
बैठकले पछिल्लो समय तराई–मधेशमा विकसित घटनाक्रम, सामाजिक सद्भाव कायम गर्ने उपाय, सरकारका १०० दिनपछिका गतिविधि तथा प्रमुख प्रतिपक्षी दलका रूपमा संसद् र संसद् बाहिर कांग्रेसको भूमिकाबारे पनि समीक्षा गर्नेछ ।
यसैगरी प्रदेश सरकारसँग सम्बन्धित विकसित राजनीतिक परिस्थिति र अन्य समसामयिक राजनीतिक विषय पनि केन्द्रीय समिति बैठकको छलफलमा समेटिएका छन् ।









Facebook Comments