
काठमाडौं । बागमती प्रदेशमा सत्ता समीकरण फेरबदलको कसरत भइरहेका बेला नेकपा एमाले र नेकपाबीचको सम्भावित गठबन्धनलाई सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन कठिन देखिएको छ।
प्रदेश सरकारको नेतृत्वका लागि एमालेभित्रै आकांक्षीबीच सहमति जुटिनसकेको अवस्थामा नयाँ सत्ता समीकरणको अंकगणितसमेत चुनौतीपूर्ण बनेको हो। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगनाथ थपलिया अस्वस्थ भएपछि मुख्यमन्त्री चयनसम्बन्धी छलफल थप अन्योलमा परेको छ।
शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुन्डु निवासमा बागमतीको भावी सरकारबारे छलफल भएको थियो। बैठकमा ओलीले संसदीय दलका नेता थपलियालाई मुख्यमन्त्रीका सम्भावित उम्मेदवारका रूपमा अघि सारेका थिए। संसदीय दलका उपनेता किरण थापा पनि मुख्यमन्त्रीका आकांक्षी रहेको विषय बैठकमा उठेको थियो।
एमाले अध्यक्ष ओलीले दुवैमध्ये अन्य दललाई विश्वासमा लिएर सरकार गठन गर्न सक्ने व्यक्तिले नेतृत्व पाउने संकेत गरेका थिए। यसले मुख्यमन्त्री चयनसँगै सरकार गठनका लागि आवश्यक समर्थन जुटाउने विषयलाई पनि एमाले नेतृत्वले प्राथमिकतामा राखेको देखिन्छ।
तर, बैठकमै थपलियालाई अन्य दलको विश्वास जित्न नसकेको विषयमा प्रश्न उठेपछि उनी असहज बनेका थिए। त्यस क्रममा केही सांसदले उनलाई मुख्यमन्त्री बनाउने पूर्वनिर्णयमाथि प्रश्न उठाएको एमाले सांसद एकलाल श्रेष्ठले बताएका छन्।
श्रेष्ठका अनुसार छलफलका क्रममा थपलियाले असहज महसुस गरेपछि बिरामी भएका थिए। उनको मध्यपुर अस्पतालमा सामान्य उपचारपछि हाल वीर अस्पतालमा उपचार भइरहेको छ।
एमाले र नेकपाबीच सहकार्यको सम्भावना रहे पनि त्यसबाट मात्र बागमतीमा सहज बहुमत पुग्ने अवस्था नरहेको नेताहरूको छलफलले देखाएको छ। सरकार गठनका लागि आवश्यक संख्याका सांसद जुटाउन थप दल वा सांसदको समर्थन आवश्यक पर्ने अवस्था आएमा सत्ता समीकरण थप पेचिलो बन्नेछ।
त्यसैले एमालेका लागि अहिले मुख्य चुनौती मुख्यमन्त्रीको उम्मेदवार टुंग्याउनु मात्र नभई सरकार गठनका लागि आवश्यक बहुमत सुनिश्चित गर्नु पनि बनेको छ। संसदीय दलभित्रै मुख्यमन्त्रीका आकांक्षीबीच सहमति र बाहिरबाट आवश्यक समर्थन जुटाउन नसके सत्ता हस्तान्तरणको प्रक्रिया लम्बिन सक्ने देखिन्छ।
यसैबीच, बागमतीमा नयाँ सरकार गठनको विषयमा दलहरूबीच थप छलफल हुने तयारी छ। एमालेले आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयास अघि बढाए पनि आवश्यक समर्थनको सुनिश्चितता नहुँदासम्म सत्ता समीकरणको अन्तिम खाका स्पष्ट हुने अवस्था छैन।









Facebook Comments