काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ। बैठकमा आगामी १५औँ महाधिवेशनको तयारीदेखि वर्तमान सरकारको १०० दिनको कार्यसम्पादनसम्मका विषयमा छलफल हुने भएको छ।

बैठकको सुरुवात गर्दै महामन्त्री प्रदीप पौडेलले महाधिवेशन तयारी, समसामयिक राजनीतिक अवस्था र सरकारको कार्यसम्पादन समीक्षालगायत विषय समेटिएको एजेन्डा प्रस्तुत गरेका छन्।

ad

कांग्रेसले आगामी महाधिवेशनलाई बैठकको प्रमुख एजेन्डाका रूपमा अघि सारेको छ। महाधिवेशनका लागि आवश्यक नियमावली तथा निर्वाचन निर्देशिका तयार गर्ने, क्रियाशील सदस्यताको विवरण अद्यावधिक गर्ने र नयाँ सदस्यता वितरणको प्रक्रिया टुंग्याउने विषयमा छलफल हुने बताइएको छ।

त्यस्तै, महाधिवेशन सम्पन्न गर्न आवश्यक तयारी समिति गठन गर्ने विषय पनि बैठकको कार्यसूचीमा राखिएको छ।

महामन्त्री पौडेलका अनुसार विभिन्न जिल्लाबाट प्राप्त प्रतिनिधिका प्रतिवेदनमाथि पनि बैठकमा छलफल हुनेछ। यसअघि केन्द्रीय कार्यसम्पादन समितिले गरेका निर्णयलाई अनुमोदन गर्ने प्रस्तावसमेत कार्यसूचीमा समावेश छ।

सरकारको १०० दिनको समीक्षा

बैठकमा वर्तमान सरकारको १०० दिनको कामकारबाहीको समीक्षा गर्ने कांग्रेसले जनाएको छ। प्रमुख प्रतिपक्षी दलका रूपमा पार्टीको भूमिका थप प्रभावकारी बनाउने तथा जनसरोकारका विषयमा स्पष्ट धारणा सार्वजनिक गर्ने विषयमा पनि छलफल हुने पौडेलले बताएका छन्।

कांग्रेसले तराई–मधेसमा पछिल्लो समय देखिएका घटनाक्रमलाई समेत बैठकमा प्राथमिकताका साथ उठाउने भएको छ। सामाजिक सद्भावमा असर पार्ने गतिविधिको समीक्षा गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन पार्टीले अपनाउनुपर्ने रणनीतिबारे निर्णय गरिने बताइएको छ।

संगठन व्यवस्थापनदेखि जनसम्पर्क समितिसम्म

बैठकमा पार्टीको आन्तरिक संगठन व्यवस्थापनसँग सम्बन्धित विषयमा पनि निर्णय हुनेछन्। सदस्यता व्यवस्थापन, केन्द्रीय समितिका यसअघिका निर्णय, जनसम्पर्क समितिका समस्या तथा अन्य राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गरेका नेता–कार्यकर्ताको व्यवस्थापनबारे छलफल हुने भएको छ।

कांग्रेसका अनुसार हालसम्म १३ देशमा जनसम्पर्क समितिका अधिवेशन सम्पन्न भएका छन्। बाँकी देशमा अधिवेशन गराउने तथा नयाँ देशमा जनसम्पर्क समिति गठनका लागि स्वीकृति दिने प्रस्ताव पनि बैठकमा पेश गरिएको छ।

यसैगरी, प्रदेश सरकारमा विकसित पछिल्लो राजनीतिक परिस्थिति, भ्रातृ तथा शुभेच्छुक संस्थाका विधानलाई स्वीकृति दिने विषयलगायत समसामयिक राजनीतिक र सांगठनिक मुद्दामा पनि केन्द्रीय कार्यसमितिले छलफल गर्नेछ।