
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले संघीय नेपालको राजनीतिक परिवर्तनसँगै सिंहदरबारको नामसमेत परिवर्तन गर्नुपर्ने प्रस्ताव गरेका छन्।
एक सार्वजनिक कार्यक्रममा धारणा राख्दै ढकालले ‘सिंहदरबार’ नाम वर्तमान राजनीतिक परिवेशसँग मेल नखाने तर्क गरे। मुलुकमा सिंहको अस्तित्व नै नरहेको उल्लेख गर्दै उनले सिंहदरबारको नाम परिवर्तन गरेर ‘अनामनगर दरबार’ राख्नुपर्ने सुझाव दिएका हुन्।
उनले नेपालमा विभिन्न चरणमा राजनीतिक परिवर्तन भए पनि त्यसअनुसार राज्यका कतिपय प्रतीक र संरचनाको नाम परिवर्तन हुन नसकेको बताए। राजनीतिक परिवर्तनपछि विमानस्थल तथा अन्य सार्वजनिक संरचनाहरूको नाम फेरिए पनि सिंहदरबारको नाम भने यथावत् रहेको उनको भनाइ थियो।
ढकालले सिंहदरबारको नाम र त्यसले दिने प्रतीकात्मक सन्देशले अझै पुरानो शासन प्रणालीको झल्को दिने दाबी गरे। राजनीतिक व्यवस्था परिवर्तन भइसकेपछि राज्यका संरचना, भाषा र प्रतीकमा समेत त्यसको प्रतिबिम्ब देखिनुपर्ने उनको धारणा छ।
सिंहदरबारको नाम परिवर्तनलाई उनले केवल नाम फेर्ने विषयका रूपमा नभई राज्य संरचनामा आएको परिवर्तनलाई प्रतीकात्मक रूपमा स्थापित गर्ने विषयका रूपमा व्याख्या गरेका छन्।
उनका अनुसार राजनीतिक परिवर्तनसँगै पुराना शासन प्रणालीको प्रतीक बनेका संरचना र प्रवृत्तिलाई समेत नयाँ सन्दर्भअनुकूल बनाउँदै लैजान आवश्यक छ।









Facebook Comments