
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले मुलुक निर्माण कुनै एक व्यक्ति वा केन्द्रको प्रयासबाट मात्रै सम्भव नहुने बताएका छन्।
संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले शुक्रबार सरकारको कामकारबाहीमाथि प्रश्न उठाएपछि प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सामाजिक सञ्जालमा ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भन्ने सन्देश सहितको स्टाटस लेखेका थिए ।
त्यसकाे भाेलिपल्ट शनिबार रास्वपा महामन्त्री विपिनकुमार आचार्यले देश निर्माण एक व्यक्ति वा केन्द्रको प्रयासबाट मात्रै सम्भव नहुने, सामूहिक प्रयासबाट मात्रै सम्भव हुने बताएका हुन्।
बालेनले शुक्रबार सामाजिक सञ्जालमा लेखेका थिए, ‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।’
शनिबार भैरहवामा आयोजित रास्वपाको कार्यक्रममा महामन्त्री आचार्यले भने देश बनाउन कुनै एक व्यक्ति वा सीमित समूहको प्रयास पर्याप्त नहुने बताएका हुन्।
आचार्यले संघीय सरकारमा रहेका २७५ जना सांसदले मात्रै देश निर्माण गर्न नसक्ने भन्दै प्रदेश र स्थानीय तहसम्मको सहकार्य आवश्यक रहेको बताए।“देश एक्लैले बन्दैन, २७५ जना सांसदले पनि बन्दैन। देश बनाउन सबैको साथ र समन्वय चाहिन्छ,” उनले भने।
उनको यो भनाइ प्रधानमन्त्री बालेनको ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भन्ने अभिव्यक्तिपछि आएको हो। आचार्यले आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै रास्वपाका नेता, कार्यकर्ता र शुभेच्छुकको साथ आवश्यक रहेको बताए। देश निर्माणको अभियानलाई निर्वाचनदेखि स्थानीय तहसम्म विस्तार गर्नुपर्ने उनको भनाइ थियो।
उनले पार्टीका नेता तथा कार्यकर्तालाई पुराना राजनीतिक दल र तिनका नेतामाथि आरोप–प्रत्यारोप वा गालीगलौज गर्नुभन्दा कामबाटै जवाफ दिन आग्रह गरे।
रास्वपामा विगतमा अन्य दलमा आबद्ध भएका व्यक्तिहरू ठूलो संख्यामा प्रवेश गरेको उल्लेख गर्दै आचार्यले नयाँ सदस्यको राजनीतिक पृष्ठभूमिलाई लिएर अनावश्यक टिप्पणी नगर्न पनि आग्रह गरे।“पुरानाबाट कोही गलत व्यक्ति आएछन् भने पनि सबै मिलेर यो देश बनाउने हो,” उनले भने।
महामन्त्री आचार्यले पार्टीका सांसद र नेताहरूको संरक्षण गर्नुका साथै उनीहरूबाट गल्ती भए प्रश्न उठाउने र खबरदारी गर्ने दायित्व पनि नेता–कार्यकर्ताको भएको बताए।
बालेनको उक्त अभिव्यक्ति र आचार्यको त्यसपछिको ‘देश एक्लैले बन्दैन’ भन्ने भनाइले सरकार सञ्चालन र सत्तारूढ पक्षभित्रको समन्वयबारे नयाँ राजनीतिक बहस जन्माएको छ।








Facebook Comments