
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र एकता र सहमति कायम हुने अवस्था बने आफू महामन्त्री पद त्याग्न तयार रहेको बताएका छन्।
शनिबार काठमाडौं कांग्रेस महानगरपालिका वडा नम्बर २६ कार्यसमितिले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै पौडेलले पार्टी सभापतिको संस्थागत भूमिकालाई सर्वोच्च मान्दै वरिष्ठ नेताहरूलाई उचित सम्मान दिनुपर्ने धारणा राखे।
उनले आफूभन्दा पार्टीका कतिपय वरिष्ठ नेताको राजनीतिक योगदान लामो र महत्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूको सम्मानमा कुनै कमी हुन नहुने बताए।
“सभापति भनेको संस्था हो। संस्थाभन्दा माथि कोही हुँदैन। वरिष्ठ नेताहरूको योगदान मेरोभन्दा धेरै छ। पार्टी एकताबद्ध हुन्छ भने म महामन्त्री पद छाड्न अहिले नै तयार छु,” पौडेलले भने।
‘सिंहदरबार जलाउनेहरूकै हातमा अहिले सत्ता’
पौडेलले पछिल्लो राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै आन्दोलन र हिंसाको माध्यमबाट सत्ता परिवर्तन गर्ने प्रवृत्तिले मुलुकलाई थप अस्थिरतातर्फ धकेल्ने चेतावनी दिए।
उनले विगतका आन्दोलनमा राज्यका संरचनामाथि आगजनी गर्नेहरू अहिले सत्तामा पुगेको टिप्पणी गरे। आगजनी र हिंसाबाट सत्ता प्राप्त गर्ने प्रवृत्तिले त्यसपछि उत्पन्न समस्याको समाधान गर्न सक्ने कि नसक्ने भन्ने प्रश्नसमेत उनले उठाए।
पौडेलले परिवर्तनका नाममा विगतका गल्ती दोहोर्याउन नहुने बताए। उनका अनुसार अतिवाद र राजनीतिक अस्थिरतालाई परास्त गर्ने लोकतान्त्रिक बाटो निर्वाचन नै हो।
सिंहदरबारलगायतका संरचनामा आगजनी नभएको भए पनि निर्वाचन हुने र निर्वाचनमार्फत जनताले पुराना राजनीतिक दललाई दण्ड वा समर्थन दिने अवस्था बन्न सक्ने उनले बताए।
कांग्रेसमा प्राइमरीको अभ्यास अघि बढाउने तयारी
महामन्त्री पौडेलले नेपाली कांग्रेसलाई देशकै सबैभन्दा धेरै सदस्य भएको पार्टीका रूपमा थप व्यवस्थित र प्रविधिमैत्री बनाउने प्रयास भइरहेको जानकारी दिए।
उनका अनुसार पार्टीका क्रियाशील सदस्यलाई डिजिटल प्रणालीमार्फत जोड्ने काम अघि बढिरहेको छ। उम्मेदवार छनोट प्रक्रियामा पनि प्राथमिक निर्वाचन अर्थात् ‘प्राइमरी’को अभ्यास सुरु गर्ने तयारी कांग्रेसले गरेको उनले बताए।
वडा अध्यक्षको उम्मेदवार छनोटमा सम्बन्धित वडाका क्रियाशील सदस्यलाई मतदानको अधिकार दिने र आवश्यकताअनुसार डिजिटल माध्यमबाट समेत मतदान गर्न सकिने व्यवस्था अघि बढाइने पौडेलले बताए।
पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ गर्दै सदस्यको सहभागिता बढाउने उद्देश्यले यस्तो प्रणाली अघि सारिएको उनको भनाइ छ।








Facebook Comments